OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७७सुर्खेत
१७९७ पटक

७ साउन २०७७, बुधबार

कर्णाली प्रदेशसभा सदस्य प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जित्नुभएको छ । सुर्खेतबाट गृह जिल्ला हुम्ला जानका लागि नेता शाहीले प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा २९ गते उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएयता उहाँ कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काको प्रत्यक्ष निगरानीमा आफ्नै निवासमै आइसोलेसनमा रहनुभएको थियो । नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मंगलबार रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । “उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,” निर्देशक डा.खड्काले भन्नुभयो, “अब उहाँ सामान्य जीवनमा फर्कन सक्नुहुन्छ ।”

नेपाल सरकारको पूर्व संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्री समेत रहनुभएका नेता शाहीले सोचमा नराखेको कुरा आफ्नो जीवनमा आईलाग्दा शुरुमा अलि तनाव भएपनि पछि धैर्य गरेर त्यो अवस्थालाई सामान्य बनाएको बताउनुभयो । मिडियाले मेरो गोपनियताको ख्यालै नगरी त्यसरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको अनुभूति उहाँले प्रकट गर्नुभयो । यस्तो विषयमा मिडिया संवेदनशील हुनुपर्ने उहाँको सुझाव थियो ।

“मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,” नेता शाहीले भन्नुभयो, “र माया ममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।” कोरोना रोगले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उहाँले अगाडि भन्नुभयो, “आत्मविश्वास शक्तिलाई दृढ बनाईयो । घरमै बसेर तातोपानी खाईयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । कुनै असर देखिएन । परीक्षण गर्दा रोग त आफै सञ्च भएको रिपोर्ट प्राप्त भयो ।”

यो रोगले सानो ठूलो धनी गरीब नछुट्याउने भन्दै नेता शाहीले रोग लाग्दा कोही कसैलाई नआत्तिन, निराश र कमजोर नबन्न आग्रह गर्नुभयो । यो समयमा आफ्नो स्वास्थ्यको बारेमा शुभचिन्ता राख्ने, विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्