OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०७७सुर्खेत
४३७ पटक

४ साउन २०७७, आईतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं.२०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका १ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कंकाल सार्वजनिक गरेको छ ।

प्रहरीले हराएको करिब १५० दिनपछि रानाको कंकाल आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । रानाको पत्नी मनरुपा रानाले फागुनमा हराएका उनलाई बेपत्ता पारिएको भनि यही असार १६ गते सोही वडाबासी ३१ वर्षीय यामबहादुर सम्सेली र ३० वर्षीय सूर्यबहादुर वलीविरुद्ध प्रहरीमा किटानी जाहेरीपश्चात् उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले यही असार ३१ गते ठाकुरबाबा नगरपालिका १ बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडे खोलामा रानाको कंकाल फेला पारेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । उहाँका अनुसार उक्त कंकाल शिवरामकै हो भनि मृतककी पत्नी मनरुपा राना र बुबाले सनाखत गरेपछि यही साउन २ गते उनीहरु विरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि त्यही अनुरुप अनुसन्धानको कारवाही अगाडि बढेको छ ।

प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडेखोलाबाट एक थान एक नाले भरुवा बन्दुक, दुई थान मृतक शिवरामको टाउकाको खप्पर मानव कंकाल, एक थान खुट्टाको हड्डी, दुई थान हातको हड्डी, एक थान कलो सल्याक्स, खैरो कालो रङ्कोे एक थान झोला र त्यसभित्र रहेको चार डिब्बा गन पाउडर, पानीले भिजेर डल्लो परेको चार बट्टा सलाई, फलामको हँसिया, खुकुरी र स्टिलको थाली एकएक थान, फलामका स–साना टुक्राहरु र नेपाली सेनाले प्रयोग गर्ने कलरको एक थान कम्ब्याट जाकेट बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

करिब पाँच महिना हराएका शिवरामको सनाखत पश्चात् कर्तव्य ज्यान मुद्दा लगाईएका दुवै अभियुक्तहरुको वास्तविक अनुसन्धान थालिएको र यथार्थ रिपोर्टका लागि मृतकको कंकालको डिएनए गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्