OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ५, २०७७सुर्खेत
१२१४ पटक

५ असार २०७७, शुक्रबार

‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ (सिसिएमइपी–२०२०) को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ ।

सम्पन्न प्रथम ई–कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ । कार्यक्रमको शुरुवाती चरणमा मध्यपश्चिम विश्वविद्यालयअन्तरगत एमआइसिडीका हेड प्रोफेसर डा.दिनेश भुजुले कन्फ्रेन्स आयोजना र त्यसको उद्देश्यमाथि प्रकाश पार्नुभयो । उक्त बहसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले कोभिड–१९ को वर्तमान अवस्था र मप विश्वविद्यालयको भूमिकाबारे चर्चा गर्नुभयो ।

प्रथम ई–कन्फ्रेन्सका प्रमुख प्रस्तोता बरिष्ठ ईञ्जिनियर तथा अनुसन्धान विश्लेषक डा.राम आचार्य नेपालमा कोभिड–१९ले वर्तमान अवस्थामा पारेको प्रभाव, यसको आगामी असर, चुनौति र संभावनाका विषयमा प्रस्तुति दिनुभएको थियो । त्यस्तै, त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका प्राडा. नारायण अधिकारी, नेपाल खुला विश्वविद्यालयका ईपिडिमियोलोजिष्ट प्राडा. सुजनबाबु मरहट्टाले सोही सवालसँग सम्बन्धित रहेर यससँग जुध्ने रणनैतिक योजना र नविन खोजका बारेमा आफ्ना प्रस्तुतिहरु दिनुभयो ।

विज्ञहरुको प्रस्तुतिपश्चात् बहस कार्यक्रममा सहभागीबाट थुप्रै जिज्ञासाहरुको उठान भएको थियो । त्यसमा विषयगतरुपमा आएका जिज्ञासाहरु सम्बन्धित विज्ञहरु जवाफ दिएर मेटाउनुभयो । कार्यक्रमको समापनमा नास्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.सञ्जय शर्माले विश्वव्यापीरुपमा संकट बनाएको यो महामारीले मानव समुदायलाई नविन खोज तथा अनुसन्धान गर्न प्रेरित गरेको बताउनुभयो ।

उक्त ई–कन्फ्रेन्सको समापन गर्दै नास्टका प्राडा. गंगा श्रेष्ठले सङ्गोष्ठी’ को सन्दर्भ र विषय समयानुकूल भएको जनाउँदै महामारीसँग जुध्न र भावी चुनौतिसँग सामना गर्न नयाँ सोच र विधिहरुको विकास हुने तर्क गर्नुभयो । कार्यक्रमको प्रविधि व्यवस्थापन गर्नुभएका मध्य–पश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक तथा सूचना प्रविधि विज्ञ पन्चदेव भट्टले २५० बढी प्रत्यक्ष सहभागी रहेको उक्त ई–कन्फ्रेन्समा विश्वविद्यालयको फेसबुक पेज लाईभमार्फत दुई हजार बढीले प्रत्यक्ष रुपमा हेरेको जनाउनुभयो ।

मध्य–पश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को नेतृत्वमा गठित ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट) को संयुक्त प्रयासमा आयोजित प्रथम ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’को उक्त कन्फ्रेन्समा विभिन्न प्रतिष्ठित संस्थाहरुसँग आवद्ध वैज्ञानिक तथा विज्ञहरुले नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषण सम्बन्धि प्रस्तुतिसहित विचार राख्नुभएको सूचना प्रविधि विज्ञ भट्टले बताउनुभयो ।

सम्पन्न प्रथम ई–कन्फ्रेन्सले अहिलेको माहामारी, यसको प्रभाव र नेपालको भावी अवस्थाबारे गहन छलफल गर्ने, सम्बन्धित निकायसम्म सुझाव पुर्याउने र आम जनताको जिज्ञासा मेटाउने अपेक्षा मध्य–पश्चिम विश्वविद्यालयले गरेको छ ।

प्रतिकृया दिनुहोस्