OnlinePana

आज : २०८३ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०८३काठमाडौं
८२ पटक

 

१९ असार २०८३, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाई विधेयक २०८३’ को मस्यौदामाथि छलफल गरेको छ ।

प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्रालय सुर्खेतले आज वीरेन्द्रनगरमा सरोकारवालाहरुसँग छलफल गरेको हो । उक्त छलफल कार्यक्रममा बोल्दै उर्जा विकासमन्त्री विजया बुढाले विधेयकको मस्यौदामाथि व्यापक छलफल गरी त्यसलाई परिपक्व बनाएर मन्त्रिपरिषद् बैठकमा लिने तयारी भइरहेको बताउनुभयो ।

“मानव जीवनका लागि अपरिहार्य विषय खानेपानी र सरसफाईको कानुनी दस्ताबेज बनाएर यहाँका नागरिकहरुको मौलिक हक, वन तथा वातावरणको संरक्षण र स्रोतहरुको आवश्यक व्यवस्थापन गर्ने कानुन निर्माण गर्दैछौं,” मन्त्री बुढाले भन्नुभयो, “यसका लागि महत्वपूर्ण सुझाव, पृष्ठपोषण र सल्लाहको खाँचो छ ।”

मन्त्रालयका निमित्त सचिव बिनोद भण्डारीले कर्णाली प्रदेश सरकारले खानेपानी तथा सरसफाईका क्षेत्रमा निर्माण गर्न लागेको ऐनलाई सम्पन्न बनाउन महत्वपूण सुझावको अपेक्षा गरिएको बताउनुभयो । नेपालको संविधान प्रदत्त मौलिक हकको प्रत्याभूति गराउने र यहाँको आवश्यकता परिपूर्ति गर्ने ऐन निर्माण गर्नु प्रधान कार्य रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता एवं बरिष्ठ सिडिई रमेश सुवेदीले खानेपानी तथा सरसफाई ऐन अहिलेसम्म आउन नसकेको विषय उजागर गर्दै प्रदेशको माटो सुहाउँदो कानुन निर्माण गरिने जनाउनुभयो । सरोकारवालाहरुसँगको छलफल, अन्तरक्रिया र प्राप्त सुझाव विना ऐन समृद्ध बन्न नसक्ने भएकोले सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

छलफलमा खानेपानी तथा सरसफाई विज्ञ कमल अधिकारीले यससँग सम्बन्धित संघीय ऐन तथा नियमावलीबारे प्रकाश पार्दै कानुनी प्रावधान, आवश्यक मापदण्ड, विधि र प्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । विज्ञ अधिकारीले छलफलमा सहभागी सरोकारवालाहरुलाई छ समुहमा विभाजन गरी विधेयकको मस्यौदामाथि समुह कार्य गराउनुभयो । जहाँ विधेयकको दश परिच्छेद र ५५ दफामा दफावार छलफल भएको थियो ।

छलफलमा सहभागी बरिष्ठ विकास व्यवसायी गोविन्द रोकायले शौचालय, हात धुने स्थान, फोहोर चीजको व्यवस्था गर्ने कुरादेखि वातावरणीय संरक्षण, सुरक्षित खानेपानी र संरक्षित मुल, गुणस्तर खानेपानी र त्यसका मापदण्ड विधेयकमा उल्लेख हुनुपर्ने सुझाव राख्नुभयो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका कानुन अधिकृत यामप्रसाद गौतमले कानुन बनाउँदा संविधान, संघीय कानून र अन्य प्रचलित ऐनले दिएका सुविधाहरुलाई ध्यान दिनुपर्ने सुझाउँदै अस्थिपञ्जरका रुपमा रहेको विधेयकमा छलफलबाट मांसपेशी र प्राण भर्ने काम भएको तर्क गर्नुभयो । सामाजिक न्यायलाई विशेष ध्यान पुर्याउँदै नागरिकप्रति उत्तरदायी भएर राज्यले कानुन निर्माण गर्नुपर्ने उहाँको भनाई थियो ।

उक्त कार्यक्रमका सहभागीहरुले कर्णालीका नागरिकको हित, आवश्यकता परिपूर्ति गर्ने र माटो सुहाउँदो कानुन निर्माण हुुनुपर्ने, खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संस्थागत विकास, पालिका तहमा संयन्त्र निर्माण र त्यसको दीगो परिचालन हुनुपर्ने गायतका कुराहरु ऐनमा ल्याउनुपर्ने सुझाव दिएका थिए ।

मन्त्रालयका शाखा अधिकृत कमला खानले कार्यक्रमको परिचय, प्रस्तुत हुने विषय र उद्देश्यबारे बताउनुभयो । त्यस्तै, शाखा अधिकृत पदमराज महताराले प्रदेश तथा स्थानीय तहको लागि मार्गदर्शन दिने र कर्णालीको सापेक्षामा ऐन बन्ने गरी सुझाव दिन आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्