१८ असार २०८३, बिहीबार
दैलेखः कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ ।
पानी बढेको र गाडी नदेखिने गरी नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । उक्त स्थानबाट नामथर र वतन नखुलेको एकजना भीरमा अचेत अवस्था अड्केको पुरुषलाई उद्धार गरिएको छ ।
प्रहरी नायब उपरीक्षक विकले घटनास्थलमा उद्धारका सामाग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्तिले संयुक्तरुपमा खोज उद्धारको कार्य गरिरहेको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट हिनेको छ ।
सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिएपनि गाडीमा कति जना सवार थिए भन्ने एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ । घटनास्थलको भौगोलिक अवस्था जटिल भएकोले थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।



