OnlinePana

आज : २०८३ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १६, २०८३काठमाडौं
८६ पटक

१६ जेठ २०८३, शनिबार

सुर्खेतः कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले पछिल्लो समयमा कर्णालीका छोरीहरु हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताउनुभएको छ ।

ज्योति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ दोस्रो संस्करण कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले राजनीतिक तथा प्रशासनिक क्षेत्रको नेतृत्व तहमा समेत कर्णालीका छोरीहरु पुगेको बताउनुभएको हो । त्यति हुँदाहुँदै अहिले पनि कर्णालीका ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेको जनाउँदै उहाँले तिनलाई साक्षर बनाउन तीनै तहका सरकारले विशेष ध्यान दिनु आग्रह गर्नुभयो ।

 

कर्णालीलाई पिछडिएको क्षेत्रको रुपमा मात्र हेर्न नहुने भन्दै उहाँले भन्नुभयो, कर्णालीका महिलाहरु पनि हरेक क्षेत्रमा क्रियाशील छन् यद्यपि साक्षर हुन बाँकी रहेका ती महिलाहरुलाई सबल बनाउनुपर्छ । प्रदेश प्रमुख जोशीले कला, संस्कृति र सभ्यताको साथै नेपालका आधाभन्दा बढी जातिको उद्गम थलो कर्णालीलाई सबै नेपालीले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राजनीतिक र प्रशासनिक पहुँचका विषयमा चर्चा गर्दै उहाँले अब महिलाहरु समानुपातिक कोटा छोडेर प्रत्यक्ष निर्वाचनतर्फ मुखरित हुन र संविधान संशोधनको बहस चलिरहेका बेला ३३ प्रतिशतबाट ५० प्रतिशत हिस्सा माग गर्न र दबाब दिनसमेत आग्रह गर्नुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समाजमा महिलाहरूको उपस्थिति र भूमिकामा ठूलो परिवर्तन आएतापनि राज्यको नीतिगत तहमा पुग्न कर्णालीका छोरीहरुको सशक्तिकरणमा थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्मचारी प्रशासन, प्रहरीदेखि राज्यका उच्च निकायमा महिलाहरूको नेतृत्व स्थापित हुनुले ठूलो अर्थ राख्ने भन्दै उहाँले हिजो स्कुल पढ्न नपाउने अवस्थाका कर्णालीका छोरीहरु आज विद्यालय जाने संख्यामा उल्लेख्य प्रगति भएको बताउनुभयो । प्रदेश सरकारले छोरीको सुरक्षा र सशक्तिकरणका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको तथापि त्यसको प्रभावकारी कार्यान्वयन नहुनु दुःखद् भएको बताउनुभयो ।

नेकपा कर्णाली प्रदेशसभा दलका नेता मंगलबहादुर शाहीले कर्णाली छोरी सम्मेलन महिला सशक्तिकरण र नेतृत्व विकासको उत्तम कार्य भएको बताउनुभयो । छोरीहरुको मर्यादित जीवन, उनीहरुप्रति गरिने सम्मानित व्यवहारले समुन्नत, शान्त तथा संस्कारयुक्त समाज निर्माण हुने नेता शाहीको भनाई थियो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलको तर्फ प्रदेशसभा सदस्य जीतबहादुर मल्लले मुलुक समृद्ध बन्न कर्णालीको विकास हुनुपर्ने र सभ्य तथा संस्कारयुक्त समाज निर्माणका लागि छोरी सशक्त बनाउनुपर्ने धारण व्यक्त गर्नुभयो । नीतिगत तथा नेतृत्व तहमा पुग्न कर्णालीका छोरीहरुले मुलुकका अन्य प्रदेश भन्दा बढी संघर्ष गर्नुपरेको तथापि कमजोर भएर बस्नुपर्ने अवस्था नरहेको उहाँको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पतिसँगै सतिजाने देशका हामी छोरीले अत्यास लाग्दा कालखण्ड काटेर आजको अवस्थामा आउन धेरै ठूलो त्याग, संघर्ष र बलिदान गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने यो छोरी सम्मेलनले कर्णालीका छोरीहरु पनि अब यो देशको नेतृत्व गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरेको छ ।

 

प्रतिकृया दिनुहोस्