

जुम्ला/चैत ८ गते । जुम्लामा एक ७० बर्षिय ज्येष्ठ नागरिक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्ला कनकासुन्दरी गाउँपालिका ४ साहुँबाडा निवासी ७० बर्षिय महेश्वरा सुनार गम्भिर घाईते अवस्थामा भेटिएर उपचार गर्न अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो । उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शनिवार वेलुकी ८ः१० बजे पुर्याईएको र ९ः४५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार उहाँलाई टाउको तथा आखामा चोटपटक लागेर अस्पताल ल्याउदै गर्दा मृत्यु भएको जानकारी दिनुभयो । यता उहाँका आफन्त धिरबहादुर वडले टाउँकोमा धारिलो हतियारले प्रयोग गरेर घाईते बनाई उहाँकै घरमा सुताएर राखेको अवस्थामा छिमेकीले घटना थाहाँ पाएको जानकारी दिनुभयो । टाउकोमा मात्रै नभई पहिला आखामा प्रहार गरिएको घाउ देखिएको छ । उहाँका अनुसार चैत ७ गते गम्भिर घाईते उहाँलाई अस्पताल ल्याउदै गर्दा निधन भएको छ । यो घटना संकास्पद भएकाले सत्य तथ्य छानविन गरि दोषीलाई कारवाही गर्न उहाँले माग गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा प्रहरीको टिम घटनास्थलमा हिडिसकेको छ । उहाँले ज्येष्ठ नागरिक महिलाको सो घटनाका बिषयमा अनुसन्धान थालिएको जानकारी दिनुभयो ।






