

नेत्र शाही/जुम्ला,
चैत ६ गते । फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न पछि प्रधानमन्त्री शुसिला कार्कीले कार्यकाल सकिदै गर्दा कर्णालीको जुम्ला र मुगुमा दुई दिने भ्रमण गर्नु भएको छ ।
कर्णाली भ्रमणको क्रममा जुम्ला र मुगुको दुई दिने भ्रमण सम्पन्न गरेर उहाँ जुम्लाबाट काठमाण्डौं फर्किनु भएको छ । जुम्लामा एक दिन बास समेत बसेर यहाँको धार्मिक पर्यटकीय ईतिहास वोकेको ऐतिहासिक चन्दननाथ मन्दिरको दर्शन तथा पुजापाठ समेत गर्नु भएको छ । शुक्रवार विहान प्रधानमन्त्री कार्कीले चन्दननाथ मन्दिरको पुजा गर्नुभएको हो । उहाँले शुक्रवार विहान चन्दननाथ मन्दिरमा पुजा सकेर नेपाली सेनाको हेलिकोप्टरमा काठमाण्डौ फर्किनु भएको छ ।
पुजाको क्रममा प्रधानमन्त्रीले जुम्ला चन्दननाथ मन्दिर रहेको जुम्लाको पुण्य भुमि भएकाले एक रात आफु जुम्ला बसेको बताउनुभयो । उहाँले आफु निर्वाचन अगाडि नै कर्णाली निरीक्षण गर्न कर्णाली आउने सोच भएपनि आउन नसकिएको तर निर्वाचन सम्पन्न पछि मुगु र जुम्ला पुगेको थप्नुभयो । प्रधानमन्त्री कार्की विहीवार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट मुगुको राराताल पुग्नु भएको थियो । उहाँले रारातालको अवलोकन भ्रमण सकेर मुगुबाट जुम्ला आई बास बस्नु भयो । उहाँ जुम्लाको चन्दननाथ मन्दिरको पुजा सकेर काठमाडौं फर्किनु भएको छ ।
निर्वाचन सम्पन्न गर्ने सवैलाई धन्यवाद :
प्रधानमन्त्री कार्कीले निर्वाचन सकिएपछि मुगु र जुम्लामा दुई दिन भ्रमण तथा अवलोकन भ्रमणको क्रममा मुगु र जुम्लामा सुरक्षा निकाय प्रमुख सँग अन्तरक्रिया गरेर धन्यवाद समेत दिनु भएको छ । कर्णालीको भ्रमणमा रहनु भएका उहाँले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन विकट भुगोलमा फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नु भएको छ । निर्वाचन पूर्वको निरीक्षण भ्रमणमा आफु कर्णाली पुग्न नसकेको बताउदै प्रधानमन्त्री कार्की विहिवार बिहान मुगु र जुम्ला पुग्ने अवसर भएको बताउनु भयो । सोही क्रममा जुम्ला र मुगुका जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ । सो क्रममा उहाँले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा समेत गर्नुभयो ।
उहाँले अवलोनमा भेटघाट भएका स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले थप्नुभयो, “देशले कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासलाई सफल पारेको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ ।” यता जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार प्रधानमन्त्री रारातालको अवलोकन सँगै विहिवार कर्णाली प्राविधिक शिक्षालय नजिककैको पानी पोखरीबाट जुम्ला सदरमुकाम र वरपरको डाडाँकाडा अवलोकन गर्नु भएको जानकारी । जुम्ला आउनु भएका प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी पौडेलले जुम्लामा शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्नका लागि गरिएका प्रयास र अवस्थाको बिषयमा जानकारी समेत गराउनु भएको छ ।
यसैक्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गर्नु भएको थियो । विसं २०३७ सालमा स्थापना भएको शिक्षालय नेपालकै जेठो प्राविधिक शिक्षालय हो । प्रधानमन्त्रीलाई शिक्षालयका विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाहरूले लालीगुराँस दिएर स्वागत गर्नुका साथै शिक्षालयको बारेमा जानकारी गराईएको थियो । यसैगरी जुम्लाको विधुतिकरणको बिषयमा पनि जानकारी गराईएको थियो ।
फोटो क्याप्सन : प्रधानमन्त्री शुसिला कार्की जुम्लाको चन्दननाथ मन्दिरमा पुजा गरेर फर्किनुहुदै तस्बिर नेत्र शाही/जुम्ला ।







