

नेत्र शाही / जुम्ला ।
२७ मंसिर, २०८२ । जुम्लाले चार दशकपछि नेपाल सरकारको मन्त्री हुने अवसर पाएको छ ।
सरकारले जुम्ला निवासी लेखक तथा जनस्वास्थ्य विद्द माधव चौलागाईलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा वन तथा वातावरण मन्त्री बन्ने अवसर मिलेको हो । प्रधानमन्त्री शुशिला कार्कीले सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबारनै माधव चौलागाईले वन तथा वातावरण मन्त्रीको सपथ लिनु भएको छ ।
कार्की नेतृत्वको सरकार बने लगत्तै कर्णालीबाट मन्त्री बन्ने चर्चामा रहेका चौलागाईलाई कार्की मन्त्रिपरिषदमा छिर्न भने करिब तीन महिना लागेको छ । गत असोज पहिलो साता नै काठमाडौंमा रहेका कर्णालीका विज्ञ र युवाहरूले भूगोलको प्रतिनिधित्व गराउँदै मन्त्री बनाउन तीन जनाको नाम सिफारिस गरेका थिए ।
जसमा विज्ञहरूको तर्फबाट नरबहादुर कार्की र माधव चौलागाईं पनि हुनुहुन्थ्यो । त्यो बीचमा तीन पटक मन्त्रिपरिषद विस्तार हुँदा यी तीनै नाम सार्वजनिक भएनन । यस बिचमा हुम्लाकी टासी ल्हान्जोम र दलित अभियन्ता दैलेखका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी भएको थियो । तर, यी दुवै जना विवादमा परेपछि प्रधानमन्त्री कार्कीले शपथ ग्रहण अगाडि उनीहरूको नाम हटाउनु भएको थियो ।
शुक्रबार चोथो पटक मन्त्रिपरिषद् विस्तार हुँदा चौलागाई भने मन्त्री बन्नु भएकोछ । तत्कालिन खस स्राज्यको राजधानी, नेपाली भाषाको उद्गमस्थल रहेको जुम्लाले झण्डै ४० बर्षमा दलिय सरकारले राज्यमन्त्रीहरु बनाएपनि पूर्ण मन्त्री बनाउन सकेका थिएनन् ।
पूर्व राज्यमन्त्री बलबहादुर महतका अनुसार जुम्लाबाट वि.सं २०३७ सालमा तत्कालिन प्रधानमन्त्री सुर्यबहादुर थापा प्रधानमन्त्री भएको समयमा स्वर्गिय नेता हरिश्चन्द्र महत जलस्रोत मन्त्री हुनुभएको थियो । वि.सं २०४०÷०४१ सालमा उहाँ पुन निर्माण तथा यातायात मन्त्री हुनु भएको थियो ।
यस पछि सांसद धेरै भएपनि पूर्ण मन्त्री हुन दलले जुम्लालाई अवसर दिएनन् । वि.सं २०४८ सालमा जुम्लाबाट प्रतिनिधिसभामा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत बिजयी, विस २०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाया बिजयी हुनु भयो । महत नेकपा एमाले र रोकाया नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । तत्कालिन समयमा भक्तबहादुर रोकाया वनराज्य मन्त्री हुनु भयो । वि.सं २०५६ सालमा नेकपा एमालेबाट देविलाल थापा विजयी हुनुभयो । दश बर्षिय माओवादी जनयूद्द पछिको शान्ति प्रक्रिया पछि डिल्लीबहादुर महत शान्ति राज्यमन्त्री मन्त्री हुनुभयो ।
वि.सं २०६४ सालको पहिलो संविधानसभामा नेकपा माओवादी पार्टीबाट नरेश भण्डारी अत्याधिक वहुमतले बिजयी हुनुभयो । दोस्रो संविधानसभाको निर्वाचन २०७० मा जुम्लाबाट नेपाली कांग्रेसका ललितजंग शाही बिजयी हुनुभयो । विं.सं २०७४ सालको निर्वाचनमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत बिजयी हुनुभयो । वि.सं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका ज्ञानबहादुर शाही कांग्रेस माओवादीको गठबन्धनलाई हराउदै बिजयी हुनु भयो । तर कुनैपनि दलले जुम्लाबाट मन्त्री बनाउन सकेनन । यस विचमा नेकपा एमालेबाट समानुपातिक सांसद बलवहादुर महत पर्यटन सस्कृति राज्यमन्त्री र नेकपा माओवादीबाट गोमा गौतम कुँवर पशुपंक्षी राज्यमन्त्री हुनु भयो । तर हरिश्चन्द्र महतपछि ४० बर्षे ईतिहासमा राजनैतिकदलबाट पूर्ण मन्त्री नपाएको जुम्लाले यति वेला चौलागाईलाई मन्त्री बनाएको छ । यतिवेला सरकारले चौलागाईलाई अगाडि बढाएपछि जुम्ला उत्साहित भएको छ । झण्डै चार दशकपछि जुम्लाले मन्त्री पाएकोमा सकारात्मक प्रतिक्रिया पनि आएको छ ।
संविधानसभा सदस्य नरेश भण्डारीले नवनियुक्त मन्त्री चौलागाईलाई वधाई दिदै लेख्नु हुन्छ, पञ्चायतकालमा हरिश्चन्द्र महत पहिलो र दोस्रो पटक गणतन्त्रपछि ४० बर्षको अन्तरालमा जुम्लाले पूर्ण मन्त्री पाएको छ । यि दुुवै मन्त्री निर्दलीयबाट भएका छन् । यो तथ्य जुम्ला र कर्णाली प्रति राजनितिकदलहरुले प्रयोग गर्ने लेन्सको महत्वपूर्ण सूचक हो ।
नवनियूक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईले मन्त्रीको पदभारग्रहण गरेपछि जेन्जीको माग संस्थागत गर्ने र कर्णालीको समृद्धिमा छोटै समय भएपनि प्रथामिकता दिने बताउनु भएको छ ।
मन्त्री माधव चौलागाई को हुनुहुन्छ ?
जुम्ला तातोपानी गाउँपालिका‐५, लाम्राका चौलागाईं मध्यमवर्गीय परिवारका हुनुहुन्छ । परिवारमा आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् । लाम्राकै तत्कालीन दुर्गा निम्न माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको वि.सं २०५१ मा सालमा जुम्लाको हिमशिखर माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण, २०५४ मा सीटीईभीटी अन्तर्गत रहेको कर्णाली प्राविधिक शिक्षालयबाट (सीएमए) अध्ययन गर्नुभयो ।
वि.सं २०५८ सुर्खेत शिक्षा क्याम्पस वीरेन्द्रनगरबाट स्वास्थ्य तथा शारीरिक शिक्षाा उत्तिर्ण चौलागाईले सन् २००३ मा थाइल्यान्डको चुलालोङ्गोकोर्ण विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर चौलागाई गर्नुभएको छ । यसैगरी सन् २०११ मा त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । पछिल्लो समय उनी त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल गरिरहनु भएको छ ।
मन्त्री चौलागाईले जागिर खाँदै आफ्नो पढाइलाई निरन्तरता दिनु भएको थियो । चौलागाई सीएमए पढेर सकेपछि स्थायी जनस्वास्थ्य अधिकृत भएर जुम्ला र हुम्लामा समेत काम गरिस क्नु भएको छ । जुम्लामा रहेको आईएनएफ अर्थात् कुष्ठरोग अस्पतालमा ८ वर्ष काम गरेका उनले झन्डै १० वर्ष कर्णालीमा स्वास्थ्यकर्मी भएर काम गरेको अनुभव बताउनु हुन्छ र । पछिल्लो २० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सेवामा विषय विज्ञका रूपमा काम गरिरहनु भएको थियो ।
चौलागाई लेखक समेत पनि हुनुुहुन्छ । चौलागाईंले आफ्ना लेखमार्फत कर्णालीको ऐतिहासिक, भाषिक, सामाजिक–सांस्कृतिक विविधताको उत्थान गर्दै आउनु भएको छ । उहाँले पछिल्लो खससभ्यताको ईतिहासमा रहेर लेखिएको सपादलक्ष पुस्तक पनि प्रकाशन गर्नुभएको थियो ।
पछिल्लो समय चर्चित बनेको ‘जुरुक्कै कर्णाली’ गीतका लेखक चौलागाईं कर्णालीमा हुने नीति संवाद ‘कर्णाली उत्सव’ कुडा कर्णालीका र ‘कर्णाली साहित्य महोत्सव’का आयोजक पनि हुन् । उहाँको सहभागितामा हरेक महिना कर्णालीका केही वुद्धिजीवहरुको सहकार्यमा काठमाडौंमा ‘कर्णाली डिस्कोर्स’ समेत सञ्चालन हुँदै आएको छ । चौलागाईले केही समय अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ओली सरकारको वेला आवेदन दिनु भएको थियो । उहाँलाई सरकारले छनौट गरेन । तर अहिले मन्त्री वन्ने अवसर मिल्यो ।
क्याप्सन : वन तथा वातावरण मन्त्री माधव चौलागाई / तस्बिर सचिवालय








