OnlinePana

आज : २०८२ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २८, २०८२
८ पटक

२८ असोज २०८२, मंगलबार

सुर्खेत: थारु समुदायमा भुसको आगोझैं बन्दै गएको घातक रोग सिकलसेल एनिमिया रोगबारे समाजलाई बुझाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको सहकार्य, सिकलसेल सामदायिक अस्पताल तथा अनुसन्धान केन्द्र, जिल्ला समन्वय समिति सुर्खेतको समन्वय, युएनडिपी संसद सहयोग परियोजनाको आर्थिक सहयोग तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘सिकलसेल एनिमिया रोगसम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा यो रोगसम्बन्धी जनचेतना जगाउनुपर्नेमा जोड दिईएको हो ।

कार्यक्रममा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सिकलसेल रोग, यसको प्रकृति, प्रभाव र समस्याबारे पहिलो पटक जानकारी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “यो रोग निकै घातक रहेछ भन्नेबारे आज बल्ल थाहा पायौं । विशेषगरी थारु समुदायमा देखापरेको यो रोगबारे जतिसक्दो छिटो समाजका सबै मानिसलाई जानकारी गराउनुपर्छ र राज्यले सिकलसेलले पारेको समस्या समाधानमा विशेष जोड दिनुपर्दछ ।”

उहाँले कर्णाली प्रदेश सरकारलाई सिकलसेल रोगीहरुको पहिचान, परिचयपत्र र उपचारका लागि नीतिगत व्यवस्था गराउन निर्देशन दिने बताउनुभयो । कर्णाली प्रदेशसभा सदस्यद्वय रनसिंह परियार र जुम्कीत लामाले विशेषगरी प्रभावित थारु समुदायमा देखिएको घातक रोग सिकलसेलको रोकथाम तथा नियन्त्रणको लागि सदन तथा समितिमार्फत सरकारलाई सुझाव दिने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका आयुर्वेदिक चिकित्सक डा.शंकर रिजालले सिकलसेलका बिरामीले सामान्य औषधि लिन नेपालगञ्ज जान नपर्ने व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत किरण शर्माले नेपाल सरकारले उपलब्ध गर्ने ९८ प्रकारका औषधिहरुमा सिकलसेल रोगीलाई पाउने गरी काम गर्ने बताउनुभयो ।

उक्त अन्तरक्रियामा नेपाल संस्कृत विश्वविद्यालय मानव शरीर संशाधन विभागमा कार्यरत डा.सुरेन्द्र चौधरीले मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग भन्ने गरिएको बताउनुभयो । उहाँका अनुसार सिकलसेल जेनेटिक डिजिज (वंशाणुगत रोग) भएकोले यसको उपचार निकै कठिन छ ।

उक्त रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “यो रोग नेपालमा सन् २००३ मा पत्ता लाग्यों । यसलाई थारु रोग पनि भन्ने गरिन्छ । अहिलेसम्म यसको उपचार छैन ।” राज्यले यसलाई विशिष्टिकृत रोगका रुपमा राखेर त्यसको स्क्रिनिङ, रोगका पहिचान, परिचयपत्रको व्यवस्था, निःशुल्क उपचार र औषधिको सहज उपलब्धता गराउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा सिकलसेल बिरामीहरुले भने राज्यले पोषणभत्ता दिनुपर्ने माग राखेका थिए ।

प्रतिकृया दिनुहोस्