OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७७ सुर्खेत
८९९ पटक

सुर्खेत, १४ जेठ २०७७, बुधबार

यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकहरुको दिनहुँ बबई सीमामा भिड लागिरहेको छ । जसको चापले कर्णाली प्रदेश सरकारलाई व्यवस्थापन गर्न निकै सकस भएको छ । ५ नम्बर प्रदेशको जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफन्टा सीमा नाकाबाट दैनिक हजारौंको संख्यामा नागरिकहरु बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ ।

भारतका विभिन्न सीमा नाकादेखि दैनिक हजारौं नागरिकहरु नेपाल छिर्ने र त्यसमा अधिकांश मान्छे कर्णालीको बबई पुग्न थालेपछि कर्णाली प्रदेश सरकारलाई थेग्न हम्य हम्य भएको छ । बबई नाकामा ठूलो संख्यामा नागरिक पुग्दा स्वास्थ्यकर्मीहरुलाई आरडिटी गर्न गाह्रो भएको छ । यो समस्या देखिएपछि अहिले प्रदेश सरकारले सम्बन्धित गाउँपालिकामै नागरिकहरु जान दिईएको र उनीहरुलाई त्यही जाँच्ने गरी आरडिटी उपलब्ध गराईएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।

“हामीले २०–२३ हजार कर्णालीवासी नागरिक आउँछन् भन्ने अनुमान गरेका थियौं,” मन्त्री रावलले भन्नुभयो, “यद्यपि अनुमानित संख्या भन्दा बढी नागरिकहरु भित्रिने देखियो ।” एकैपटक चार हजार भन्दा बढी नागरिकहरु गाडीको हुल बनाएर आउन थालेपछि केही बबई र केही सम्बन्धित स्थानीय तहमै आरडिटी जाँच गर्ने तवरबाट प्रदेश सरकार लागि रहेको उहाँले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गते यता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिकहरु प्रवेश गरेको बताउनुभयो । “एक साताभित्र कर्णाली छिर्ने नागरिकहरुको संख्या १३ हजार ८६ छ, सूचना अधिकारी रायमाझीले भन्नुभयो, “जेठ १०–१३ गतेभित्र मात्र ११ हजार ५६९ नागरिक कर्णाली आए । जसमा १२ गतेमात्र चार २९७ नागरिकहरु कर्णाली प्रवेश गरे ।”

भारतबाट कर्णाली फर्कने सबै भन्दा बढी दैलेखका साढे छ हजार नागरिकहरु रहेको उहाँले बताउनुभयो । दैलेख जिल्ला प्रशासन कार्यालयका अनुसार भारतमा दैलेख आउने नागरिकहरुको संख्या ४२ हजार छ । सूचना अधिकारी रायमाझीका अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा भने भारतबाट आउने नागरिकको संख्या शून्य रहेको छ ।

भारतले रेल बुकिङ् सेवा शुरु गरेयता यहाँ नागरिकको संख्या ह्वात्तै बढेको छ । दैनिक भारतबाट कर्णाली भित्रिने नागरिकहरु बढेसँग एक साताभित्रै कोरोना संक्रमितको संख्या २३ पुगेको कर्णाली प्रदेश सामाजिक विकास विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

भारतको उत्तराञ्चल प्रदेशबाट आएका तिला गाउँपालिका जुम्लाका रुद्रबिर सुनारले ज्यानको बाजी थापेर नेपाल आउनुपरेको बताउनुभयो । “बाटोमा आउँदा जोगिन खोजेपनि हजारौंसँग भेटभयो । पाँच दिन भारतको वनवासामै रोकिनु पर्यो,” उहाँले भन्नुभयो, “सुरक्षित छौं या जोखिममा ? अब जिल्लामा पुगेर क्वारेन्टाइनमा १४ दिन बसेपछि थाहा होला ।”

ज्याला मजदुरीका लागि भारत जानेहरुको स्वदेश फर्कने क्रम रोकिएको छैन । भारतबाट स्वदेश फर्कने नागरिक अधिकांश कर्णालीकै भएकोले यहाँ आउने नागरिकहरुको संख्या अmँभ बढ्ने देखिन्छ । बाहिरबाट आउने नागरिकका कारण कर्णालीमा कोरोनाको उच्च जोखिम बढेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

यो प्रदेशको सबैभन्दा दैलेखमा भारतबाट भित्रिनेहरुको संख्या बढी भएपछि उनीहरुको स्वाब संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक टोली पठाउने तयारी भईरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउन र त्यसले खोसिएको रोजगारीले भारतमा अलपत्र परेका नेपालीहरु नेपाल मातृभूमि फर्किनुको विकल्प पनि छैन । यद्यपि करिब दुई महिनासम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा जेठ १ गते भारतबाटै फर्केका २३ जनामा कोरोना संक्रमित भेटिएपछि यहाँका नागरिकहरुमा त्रास बढ्दै गएको छ ।

भारत गुजरातबाट आएका सुर्खेत चिङ्गाड गाउँपालिकाका एक युवाको हिँजो मंगलबार राती नै कर्णाली प्रदेश अस्पतालमा ज्यान गईसकेको छ । यता प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नाकामा नेपाली सेनालाई क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नदिए र आरडिटी जाँच गर्ने व्यवस्था मिलाउन नसकिए कर्णालीमा भयावह अवस्था आउने निर्देशक डा.खड्को भनाई थियो । प्रदेश सरकारले पनि यस अघि नै भारतबाट आउने नेपालीलाई सीमा नाकामै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरिसकेको छ । भारतमा कर्णाली ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ

प्रतिकृया दिनुहोस्