OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०८१सुर्खेत
१०२ पटक

११ असार २०८१, मंगलबार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि कर्मकाण्डीय नभई वास्तविकतामा आधारित योजना बनाउनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय र प्राधिकरणद्वारा संयुक्त आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य र आगलागीजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा बोल्दै सहसचिव धमलाले कार्यान्वयनयोग्य योजना मात्र प्रभावी बन्न सक्ने बताउनुभयो । “प्राधिकरणको वार्षिक कार्ययोजना भएपनि कार्यसम्पादन प्रक्रिया अपेक्षित हुन सकेको छैन,” उहाँले भन्नुभयो, “विपद्मा प्रतिफल खोज्ने होइन तर सावधानी बेलैमा हुनुपर्दछ ।”

चाहेर नचाहेर पनि मानव जीवनमा विपद् आइलाग्ने भन्दै उहाँले त्यसको प्रतिकार्यमा सबै क्षेत्र एक भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जिल्ला÷प्रदेशमा नौ र केन्द्रमा ११ क्षेत्रहरु भएपनि विपद् जोखिम प्रतिकार्य र त्यससँग जुध्न सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मानव जीवन रक्षा र प्रकृतिको संरक्षणका लागि बेलैमा सावधानी पुर्याउनुपर्ने उहाँको भनाई थियो ।

गोष्ठीमा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले मनसुन पूर्वतयारी, प्रतिकार्य र विपद् जोखिम न्यूनीकरणको तयारी गरिरहेको बताउनुभयो । आगलागीजन्य विपद् जोखिम कम गराउन र डढेलोबाट वन जोगाउने सकेसम्म बाँझो गराहरुमा खेती गर्ने नीतितर्फ सरकार मुखरित रहेको बताउनुभयो ।

गृह मन्त्रालयका उपसचिव सुन्दरप्रसाद शर्माले नेपालमा वन डढेलोको अवस्था, वन डढेलो विज्ञ विमल पाण्डेले विपद् प्रतिकार्यमा कर्णाली र वातावरणविद् मिना चौंधरीले विपद्ले पार्ने वातावरणीय प्रभाव र त्यसमा विषयगत क्षेत्रले खेल्नुपर्ने भूमिका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो । उक्त गोष्ठीमा सचिवहरु, सुरक्षा निकाय, गैर सरकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्