OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १४, २०८०सुर्खेत
१०० पटक

१४ चैत २०८०, बुधबार

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्ले र लेकबेसी नगरपालिकाको छोटेस्थित मनसुनपूर्वकाे विपद्जन्य घटनामा आधारित संयुक्त कृत्रिम अभ्यास सम्पन्न गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, ३२ गण हेडक्वाटर रक्तकाली, सुर्खेतको संयोजनमा आज चिप्ले र छोटे जोड्ने भेरी नदीमा विपद् प्रतिकार्यका लागि पूर्व तयारीको अभ्यास देखाइएको थियो । बाढीको समयमा बगेर वा डुबेर खतरामा परेकाहरुको खोज तथा उद्धार कसरी गर्न सकिन्छ र विपद्सँग जुध्न गर्नुपर्ने पूर्वतयारी के हो भन्नेबारे सरोकारवालाहरुलाई जानकारी दिन कृत्रिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल, ३२ गण हेडक्वाटर रक्तकाली, सुर्खेतका गणपति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले विपद् प्रतिकार्यको पूर्वतयारीका लागि गरिएको खोज तथा उद्धारको कृत्रिम अभ्यास प्रभावकारी भएको बताउनुभयो । विपद् जतिबेला पनि आउन सक्ने भन्दै यसका लागि आज सञ्चालन गरिएको अभ्यासले सरोकारवाला सबैलाई राम्रो सन्देश दिएको जनाउनुभयो ।

लेकबेसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले आजको कृत्रिम अभ्यासले विपद् प्रतिकार्य तथा खोज उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिनुभयो । घटना घट्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै आएको जनाउँदै उहाँले कृत्रिम अभ्यासले क्षमतामा निखार ल्याउने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले विपद्को समयमा बाढीबाट मानवीय क्षति हुन नदिन कार्यक्षमता बढाउने उद्देश्यले कृत्रिम अभ्यासको आयोजना गरिएको बताउनुभयो । “खोज तथा उद्धार आफैमा जोखिम र कठिन कार्य हो,” उहाँले भन्नुभयो, “जीउज्यान जोखिम राखेर विपद्सँग जुध्ने जटिल कार्य हो तर तीनै सुरक्षा निकायको काम सह्रानीय छ ।”

कृत्रिम अभ्यासको क्रममा सशस्त्र प्रहरीले भेरी नदीको बाढीले बगाएका र डुबाएका नागरिकलाई उद्धार तथा खोजका लागि रोवट डुंगा, गोताखोर, स्ट्रेचर, ब्याक बोट, क्याराबिन जस्ता विपद् सामग्री तथा उपकरण प्रयोग गरिएको थियो । मनसुनजन्य विपद्ले आउने बाढीमा परी आपत एवं संकटमा परेका मानिसहरुको खोज, उद्धार र राहतमा सबै तहका सरकार, प्रशासन, सुरक्षा निकाय, रेडक्रस, नागरिक समाजलगायतका सरोकारवालाहरुको भूमिकाबारे पनि जानकारी गराइएको थियो ।

उक्त विपद् प्रतिकार्यको पूर्वतयारीको कृत्रिम अभ्यासमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, नेपाली सेनाका सेनानी प्रकाशकुमार गिरी, जिल्ला अनुसन्धान कार्यालय सुर्खेतका प्रमुख प्रकाश शाह, रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्य, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयसहित करिब दुई सयको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्याला, भेरीगंगा नगरपालिका, नेपाली सेना कालीबहादुर गण, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस साेसाईटी सुर्खेतकाे समन्वय र सहयाेग रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्