OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ९, २०८०सुर्खेत
१०० पटक

९ चैत २०८०, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘परागसेचन रणनीति’ निर्माणसम्बन्धी कार्यशाला सुरु भएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा आज यहाँ संयुक्त आयोजित ‘परागसेचन रणनीति’ निर्माणका लागि मस्यौदामाथि छलफल गर्न कार्यशाला भएको हो । उक्त कार्यशालाको उद्घाटन गर्दै कृषिमन्त्री भीमप्रकाश शर्माले परागसेचन रणनीति प्राङगारिक उद्देश्य प्राप्तिको महत्वपूर्ण काम हुने बताउनुभयो ।

कर्णाली रसायनिक विषादीको कम प्रभावित क्षेत्र भएको बताउँदै उहाँले भन्नुभयो, “परागसेचनको संरक्षण र प्रवद्र्धनमा आएको समस्या पहिचान गरौं । यसको महत्वलाई प्राथमिकता राखेर नीति बनाउँ । जस अनुसार मन्त्रालयले ठोस कार्यक्रम तय गर्छ ।” अहिले पनि कर्णालीको हुम्लाबाट करिब ३० क्वीन्टल मह आएको भन्दै मन्त्री शर्माले परागसेचक मौरी संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

लि–बर्डका कार्यकारी निर्देशक भरत भण्डारीले परागसेचकहरुको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो । परागसेचन रणनीति निर्माणका लागि यस क्षेत्रको विज्ञता र ज्ञान समेटेर प्रदेशको नीति तथा योजना एकीकृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । यद्यपि पछिल्लो समयमा रसायनिक प्रयोगले मौरी, भमरा, पुतली, बारुला, खपटे, बारुलालगायतका परागसेचकहरुको संरक्षणमा ठूलो चुनौति देखिएको उहाँको भनाई थियो ।

कार्यशालामा लि–बर्डका सुजन सापकोटाले नेपालको कृषि प्रणालीमा दीगो परागसेचन व्यवस्थापन परियोजनाअन्तरगत परागसेचन रणनीति र परागसेचकहरुको महत्व, पृष्ठभूमि र यससम्बन्धीका गतिविधिबारे आफ्नो प्रस्तुति राख्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञान विभाग काठमाडौ, कृषि तथा वन विश्वविद्यालय भरतपुर, ब्रिस्टोल विश्वविद्यालय, हर्ड इन्टरनेश्नल र डार्विन इनिसियटिभलगायतका संस्था तथा मौरीपालक कृषक, पर्यावरण तथा प्राणी विज्ञसहितका सरोकारवालाहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्