OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहकार्तिक २४, २०८०नेपालगञ्ज
६१० पटक

 

 २३ कार्तिक २०८०, शुक्रबार

राहत भन्दा पनि खाईलाग्दो अवस्थाका दुई छोरीहरुको अवसानले आहत बनाएको छ, बारेकोट गाउँपालिका ४ जाजरकोट जिरी निवासी गोरख र शोभा शाह (सिंह)लाई । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले उहाँका दुई छोरीहरु उपसना र उर्जा सिंहको ज्यान लियो ।

घटना भएको एक साता हुन लाग्यो । २१ वर्षीय उपासना र १८ वर्षीय उर्जाको निधनले उहाँसहित श्रीमती शाहको आँखा ओभाएका छैनन् । नेपालगञ्ज उपमहानगरपालिका १ मा बस्दै आउनुभएका सिंह दम्पती दुई छोरीहरुसहित दशैं मनाउन असोज २८ गते नै बारेकोट गाउँपालिकास्थित जिरी गाउँ पुग्नुभएको थियो ।

दशै मनाएर बाबा आमासँगै बारेकोटबाट दुवै दिदीबहिनी कार्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए । बाबाआमा मावली सदरमुकाम खलंगास्थित घरमा बस्दा शुक्रबारका दिन त्यही नजिक आफ्नै सानी आमाको घरमा बस्न गएका उनीहरुसहित सानी आमाकी २५ वर्षीय छोरी मेरिना आरसीको पनि भूकम्पमा परेर ज्यान गयो । मेरिना कुसे गाउँपालिका ९ पैंक निवासी आमा सुस्मा र बाबा सनत आरसीका कान्छी छोरी हुन् ।

उपसना एभरेष्ट इञ्जिनियिरिङ कलेज सानेपा २ ललितपुरमा बि.ई.आइटी इञ्जिनियरिङमा पाँचौं सेमेष्टरमा अध्ययनरत थिईन् । उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना र प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीहरुको अवस्थामा सहजता ल्याउने । अचानक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो ।

स्टी थोमस ईङ्लििस माद्यमिक विद्यालय नेपालगञ्जबाट प्लस टु साइन्स विषयमा उत्तीर्ण गरी एमबीबीएसमा नाम निकालेर चिकित्सा क्षेत्रको उच्च शिक्षा अध्ययननका अष्ट्रेलिया जाने तयारीमा थिइन् उपासनाका बहिनी उर्जा । उनको सपना थियो डाक्टर बनेर समाजसेवा गर्ने । त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो । यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने उर्जाको सपना पनि भूकम्पले खरानी बनायो ।

यस अघि डाक्टर लागि नीजि मेडिकल कलेजहरुमा नाम निकाले पनि बाबाआमालाई आर्थिक भारमा पार्न खोजिनन्, उनले । महंगो डाक्टरी शुल्क तिरेर बाबाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा उर्जाले राम्रोसँग बुझेकी थिइन् । घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हाँसिल गर्ने लक्ष्य राखेकी थिईन् ।

आइटी इञ्जिनियर बन्ने उपासना र डाक्टर बन्ने उर्जाको इच्छारुपी सपना पुरा गर्न जस्तो सुकै जोखिम मोल्न चाहान्थे सिंह दम्पती । त्यसका लागि उनीहरुको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरु तिहारलगत्तै उर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए । “दैवको लिला र भाग्यमा लागेको खोटले होला, आज कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ,” बररर आँसु झार्दै सिंहले पीडा पोख्नुभयो ।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्ने आफन्त शुभेच्छुकहरुका लागि घरको ढोका अगाडि राखिएका उपासना र उर्जाको तस्वीरले पटक पटक धरधरी रुवाउँछ, उनीहरुलाई । सिंहले भक्कानिदै भन्नुभयो, “बिरक्तिएको तक्दीर समीपका आँखाले छोरीहरुको अमूर्त तस्वीर नियालिरहेका छन् । घरको कुनाबाट छोरीहरुले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ ।”

सिंह पत्नी शोभा शाह भन्नुहुन्छ, “काख रित्तिएको छ । घरमा उपासना गर्ने उर्जा समाप्त भएको छ । राति निन्द्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन अनि डाको छोडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन । कोपिला फक्र्यो तर फल नलाग्दै फुल नै पापी कालले चुँडेर लग्यो । हामीमाथि दैव लाग्यो । यस्तो पीडा कसैले भोग्नु नपरोस् ।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरु राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने उत्कट चाहाना थियो सिंह दम्पतिको । दुर्भाग्यः कात्तिक १७ गते रातिको विनासकारी भूकम्पले उनीहरुको सपनाका मुनाहरु चुँडेर लग्दा आशा र खुसी सदाका लागि खोसिएको छ । अहिले उनीहरु मात्र सान्तवना र समवेदना ग्रहण गर्ने पात्रका रुपमा दर्ज भएका छन् ।

दिवंगत सिंह दिदीबहिनीका आफन्त राजेन्द्र सिंहका अनुसार उपासनाको राति एक्लै पढ्ने बानी थियो । उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन् । उर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन् । बाबा आमाको आर्थिक तथा घरयासी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबीबीएस अध्ययनका लागि कमसल नम्बरको छात्रवृतिमा नाम निकालेकी उनले आफ्नो पढाईलाई एक वर्ष पछि धकेलेकी थिइन् ।

यता पोखरा विश्वविद्यालयबाट स्कलरसिपमा परी मेरिनाले कलेज अफ ईञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल ईञ्जिनियर पुरा गरी ईञ्जिनियिरिङ काउन्सिल दर्ता लगिसकेकी थिइन् । देशको अब्बल ईञ्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमा बुबाको आशाको दीयो सदाका लागि निभेको छ ।

भूकम्पबाट आफन्त गुमाएका दर्जनौं परिवारको पीडा बुझेर सिंहसहित आरसी दम्पतीहरुले आफ्नो चित्त बुझाएका छन् । गत शनिबार राति ११ः५७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडामा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका सयौं घर भत्कँदा एक सय ५७ जनाको मृत्यु भएको थियो भने दुई सय ५० भन्दा बढी घाईते भएका थिए ।

 

प्रतिकृया दिनुहोस्