OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १०, २०७९काठमाडौं
१४५ पटक

१० मंसिर २०७९, शनिबार

कर्णाली प्रदेशका दश जिल्लामा प्रतिनिधि सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन भएपनि बाँकी आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम गरिएको छ । सबै क्षेत्रको निर्वाचन प्रक्रिया सम्पन्न भईसकेको छ । नतिजा भने बिगत जस्तै तर ठीक विपरीत आएको छ ।

यसपटक मंसिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरिझै कर्णालीमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबीच नै चुनावी प्रतिस्पर्धा भयो । यो चुनावमा एकाद जिल्लामा राप्रपा आफ्नो बिगत् फर्काउन सफल भयो । मूलतः चुनावी प्रतिस्पर्धा कम भड्किलो तर निकै रोचक नै बन्यो ।

पाँच वर्ष अघि विसं.२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रको तालमेल भयो । एमाले र माओवादीको तालमेलका कारण कर्णालीका सबै जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेस ‘क्लिस्वीप’ भयो । प्रदेशसभा मुस्किलले बहाला मुख्यमन्त्री जीवबहादुर शाही प्रत्यक्षमा विजयी हुनुभएको थियो ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गतेको नतिजा भने बिगतकै जस्तो तर विल्कुल उल्टो आएको छ । यस पटकको निर्वाचनबाट हिँजो माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिंगो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा काँग्रेस भने माथि उठेको छ । माओवादीको भागमा पाँच प्रतिनिधि सभा सदस्यको भाग लाग्दा जुम्लाबाहेक हुम्ला, कालीकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ ।

नेपाली काँगे्रसको भागमा परेका मुगु, दैलेख क्षेत्र नं.२ र सुर्खेत क्षेत्र नं.१ र २ मा विजय हाँसिल गरिसकेको छ । नेकपा (एकीकृत समाजवादी)को लिएको डोल्पा, दैलेख क्षेत्र नं.१ र सल्यानमा आफ्नो जीत हात पारिसकेको छ । एमालेले भने कर्णालीका दश जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र कतैबाटबाट पनि जीत हात पार्न नसकेर शून्यमा झरेको छ ।

जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार आठ सय १९ मत प्राप्त गर्दा गठबन्धन दलका साझा उम्मेदवार गोमा गौतम (कुँवर)ले ११ हजार नौ सय ५९ मत प्राप्त गर्नुभयो । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा (माओवादी केन्द्र)का गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित हुनुभएको थियो ।

सुर्खेत क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत ल्याउँदा ११ हजार छ सय १९ मतान्तरले पछि परेका उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभयो । जसले ०७४ को चुनावमा खड्कालाई हराउनुभएको थियो ।

सुर्खेत क्षेत्र नं.२ मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार ६२५ मत ल्याएर थानी विजयी हुनुभयो । त्यसमा क्षेत्रमा गएको निर्वाचनमा एमालेका नवराज रावत निर्वाचित भएका थिए ।

जाजरकोटबाट प्रतिनिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी निरजप्रसाद आचार्यले २५ हजार १२० मत ल्याएर पराजित हुनुभयो । बस्नेत चौथो पटक संंसद प्रवेश गर्दै हुनुहन्छ ।

रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्मा (प्रभाकर)ले ३९ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटा १२ हाजार ९६१ मत ल्याएर पराजित हुनुभयो । विसं.२०६४ सालदेखि शर्माले पनि निरन्तर संसदमा प्रवेश गर्दै आउनुभएको छ ।

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला ०६४ सालको संविधानसभाको निर्वाचन बाहेक २०५१ यता लडेका सबै चुनाव जित्नै आउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले १५ हजार ९११ मतान्तरले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पछि पार्दै ३५ हजार ७०० मत ल्याएर विजयी हुनुभयो । जहाँ कि शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, दैलेख क्षेत्र नं.१ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार २५६ मत ल्याउँदा नेकपा एमालेका रविन्द्रराज शर्मा १७ हजार ४०७ मत ल्याएर पराजित हुनु पर्यो । त्यस्तै, दैलेख क्षेत्र नं.२ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत ल्याएर विजयी हुनुभयो ।

नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले भने २० हजार पाँच मत ल्याउनुभयो । गत ०७४ को चुनावमा नेकपा एमालेले क्षेत्र नं.१ मा रविन्द्रराज शर्मा र २ मा राजबहादुर बुढालाई जिताएको थियो । नेकपा एमालेको गढ मानिएको दैलखका दुवै क्षेत्रको बिरासत यस पटकको वाम–लोकतान्त्रिक गठबन्धनले तोडिदिएको छ ।

कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार ४७४ मत प्राप्त गरी विजयी हुनुभयो । २०७० यताका सबै निर्वाचनबाट शाही निर्वाचित हुँदै आउनुभएको छ । उहाँ कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीसमेत भइसक्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित हुनुभयो ।

डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार ५०५ मत प्राप्त गरी पराजित हुनुभयो । बुढा पनि २०७० को संविधानसभा निर्वाचनदेखि सांसदमा दोहोरिने मौका गुमाउनुभएको छैन ।

हुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुल लामाले नेकपा एमालेका दल रावललाई चार हजार ८५५ को मतान्तरले पछि पार्दै १४ शजमर ३७१ मत ल्याएर विजयी हुनुभएको छ । रावलले नौ हजार ५१६ मत ल्याउनुभएको थियो । चुनावकै समयमा एमाले प्रवेश गरी प्रदेशसभा (२)बाट लडेका पूर्व माओवादी छक्कबहादुर लामा ०७४ मा हुम्लाबाट सांसद निर्वाचित हुनुभएको थियो ।

मुगुमा यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पछि पार्दै १४ हजार ७०२ मत ल्याएर विजयी हुनुभएको छ । कार्कीले भने १० हजार ७०८ मत प्राप्त गर्नुभयो । यसअघि नेकपा (एकीकृत समाजवादी) मुगु प्रदेश (१) बाट चुनाव लडेका पूर्व एमाले गोपाल बम संघीय सांसदमा निर्वाचित हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाउनुभयो । यद्यपि नेकपा एमाले सुर्खेत क्षेत्र नं.२ प्रदेश (१) बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिनुभयो ।

एमालेभित्रको विभाजन र वाम–लोकतान्त्रिक गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउनुहुन्छ । निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार ४०३ मतदाता संख्या मध्ये छ लाख ६२ हजार ९५ (६१ प्रतिशत)ले भोट हालेका थिए ।

प्रतिकृया दिनुहोस्