OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २४, २०७९काठमाडौं
३६७ पटक

२४ कात्तिक २०७९, बिहीबार

पौराणिक पात्रमा आधारित नामहरु गोमा र कुन्ती आफैमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्दछ । संभवतः त्यो संयोग गोमा र कुन्ती परिवारमा जुरेको हुन सक्छ ।

अहिले ती दुवै पात्र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार छन् । चुनावको दिन आसन्न मंसिर ४ गते आउन अब १० दिनमात्र बाँकी छ । गोमा गौतम (कुँवर) प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) जुम्लाका महिला प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ भने कुन्तीकुमारी शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दैलेख क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार ।

कर्णालीमा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र छन् । त्यसमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ७६ उम्मेदवारहरु चुनावी मैदानमा छन् । बिगतदेखिको बिरासत बोकेका पार्टी मध्ये कर्णालीमा नेकपा (माओवादी केन्द्र) र राप्रपाले बढी न्याय गरेको छ । नेपाली काँगे्रस र नेकपा एमालेका महिला नेतृहरुले टिकट पाउन सकेका छैनन् ।

संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता राज्यका सबै निकाय हुनुपर्ने व्यवस्था भएपनि ठूला पार्टीबाट कर्णालीमा गौतम र शाही मात्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा मुस्किल अटाउन सके । वर्गका हिसाबले महिला भएपनि दुवैको राजनीतिक र धार्मिक आस्था एकआपसमा ठीक विपरीत छ । उनीहरु दुवै एक अर्कोका व्यवस्थाका विरोधी मानिन्छन् ।

गोमाले कम्युनिष्ट विचार धारामा विश्वास गर्नुहुन्छ भने कुन्तीले हिन्दुवादी सनातन धर्ममा । मालेमावादलाई अंगाल्नुभएका गौतम र राजसंस्थालाई आस्थाको धरोहर ठान्दै आउनुभएका शाहीले फरक पार्टीका पुरुष उम्मेदवारसँग भिडन्त गर्दै हुनुहुन्छ । जहाँ दुवैका लागि चुनाव लड्नु त्यति सजिलो छैन । सिंगो कर्णालीका निम्ति महिला नेतृत्वमा आउने कुरामा अन्याय गरेपनि आफूहरुको सवालमा न्याय दिलाएको बताउनुभयो ।

जुम्लाका गौतम प्रतिनिधिसभा सदस्यका उम्मेदवारद्वय नेकपा एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्लेसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । श्रमजीवि र महिला वर्गको मुक्ति आन्दोलन गर्दै हाल माओवादीका केन्द्रीय सदस्य रहकी गोमा जुम्लाका माओवादी र अहिलेको गठबन्धनको साझा उम्मेदवारका हिसाबले बलियो नै देखिनु हुन्छ ।

स्थानीय तह निर्वाचन, २०७९ को मतपरिणामलाई नियाल्दा जुम्लामा काँग्रेसको १६ हजार ७५ मतसंख्या छ भने नेकपा (माओवादी केन्द्र)को १४ हजार १७५ छ । त्यस्तै, नेकपा एमालेको छ हजार ९६२, नेकपा (एकीकृत समाजवादी)को छ हजार १९५ र राप्रपाको ५१४ मतसख्या छ ।

पछिल्लो समयमा समाजवादी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । गठबन्धन दलभित्रका दुई दल नेपाली काँगेस र माओवादीको मत जोड्दा मात्र ३० हजार छ । गठबन्धन दलभित्रको कूल मतमा ४० प्रतिशत नदिएपनि ६० प्रतिशत मत गठबन्धनको पक्षमा आउने भएकोले जित सुनिश्चित भएको उम्मेदवार कुँवरले बताउनुभयो ।

ठूला दलबाट एक्ला महिला उम्मेदवार बनेकी उहाँ यतिबेला मतदाता भेटघाटमा व्यस्त नै हुनुहुन्छ । चिसोसँगै गाउँमा आफूहरुले मत माग्दा विपद् पीडित जुम्लाका मतदाताहरुले बाढीले बगर बनेका जमीन पुनःनिर्माण र सीप तथा आयआर्जनमूलक कार्यक्रम हाल्न माग गरेको उहाँले बताउनुभयो । जुम्ला माओवादी एक्लैले जित्ने आधार क्षेत्र भएकोमा गठबन्धनले झनै आफ्नो जित सुनिश्चित गराएको उहाँको भनाई छ ।

गौतमले भन्नुभयो, “हामीले गरेको विद्रोह र आन्दोलनको उपलब्धि हो आजको व्यवस्था र म महिला उम्मेदवार हुने अवसर । अहिले महिलासहित दलित, आदिवासी÷जनजाति, पिछडिएको, अल्पसंख्यक, सीमान्तकृत सबैले राज्यको सबै निकायमा अधिकारका रुपमा अनिवार्य सहभागिता जनाउँदै आएका छन् । यो व्यवस्था ल्याउनुमा माओवादीको पहिलो भूमिका छ ।”

व्यवस्था परिवर्तनमा भूमिका खेल्ने माओवादी, मुलुकलाई शान्ति प्रक्रिया लैजान योगदान पु¥याउने काँगे्रस र व्यवस्था बदल्न तथा शान्ति प्रक्रिया लैजान मध्यस्थकर्ता एवं सहजकर्ताको महत्वपूर्ण ऐतिहासिक अभिभारा पुरा गर्ने नेकपा (एकीकृत समाजवादी)लगायतको गठबन्धन दलका सबै उम्मेदवारको पक्षमा मतदान हुने र त्यसमा गठबन्धनले विजय हाँसिल गर्नेमा पूर्ण विश्वस्त रहेको उहाँले जिकिर गर्नुभयो ।

त्यस्तै, दैलेख क्षेत्र नं.मा राप्रपाबाट प्रत्यक्ष उम्मेदवार बन्नुभएकी शाही गठबन्धन दलसहित नेकपा एमालेका पुरुष उम्मेदवारसँग भिड्दै हुनुहुन्छ । राप्रपाको महामन्त्रीसमेत रहनुभएकी शाहीलाई चुनाव जित्नु फलामको च्यूरा चपाउनु जस्तै छ । उहाँले गठबन्धन दलका साझा उम्मेदवार अम्मरबहादुर थापा र नेकपा एमालेका रविन्द्रराज शर्मासँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

स्थानीय तहको चुनावको मतपरिणामलाई हेर्दा नेपाली काँग्रेसको २० हजार ३४४, नेकपा एमाले १९ हजार ६१, नेकपा (एकीकृत समाजवादी)को पाँच हजार ५२९, नेकपा (माओवादी केन्द्र)को तीन हजार १७५ र राप्रपाको ९७६ मतसंख्या रहेको छ ।

यसलाई हेर्दा शाहीको चुनावी प्रतिस्पर्धा सहज छैन । तथापि पछिल्लो समयमा राप्रपा र आफूले उठान गरेका जनताका प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दा र पूर्वाधार विकास योजनाको २१ बुँदे प्रतिवद्धता पत्रले जीत सुनिश्चित रहेको उहाँले दावी गर्नुभयो । शाहीले भन्नुभयो, “गठबन्धन दल र नेकपा एमालेले स्थानीय तहको मत परिणामलाई आधार बनाएका छन् । उनीहरुका ती पुराना सपना सबै ध्वस्त हुनेछन् ।”

सबै गर्छौं भनेर स्नातक पढेका युवालाई समेत भारत जान बाध्य बनाउने ठूला दलप्रति जनताको नैराश्यता र आक्रोश दुवै भएको उहाँले जनाउनुभयो । दैलेखी आत्मनिर्भर बनाउने, दलित, महिला र विपन्न वर्गलाई उत्पादन र सीपसँग जोड्ने र सुर्खेत–दैलेख–महावु–कालीकोट हुँदै जुम्ला जोड्ने सडक निर्माण गर्ने प्रतिवद्धता र दैलेखी जनताको आफ्नो जित सुनिश्चितको प्रमुख आधार भएको उहाँले दावी गर्नुभयो ।

राजनीतिक विश्लेषक पिताम्बर ढकालले पछिल्लो समयमा जनतामा बढ्दै गएको राजनीतिक चेतना र पार्टीको बिगतको बिरासतले उम्मेदवारको जित हारमा प्रमुख भूमिका खेल्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “जुम्लामा गोमा गौतम (कुँवर) गठबन्धनको साझा उम्मेदवार र मतदातामा बढेको राजनीतिक चेतनाले दैलेखमा कुन्ती शाहीले दावी गर्नुलाई अस्वभाविक ठानिदैन । यद्यपि राप्रपाको सांगठानिक मत धैरै देखिदैन ।”

मुख्यतः परम्परागत राजसंस्थालाई ढाल्ने र कुनैपनि हालतमा भएपनि त्यसलाई ठड्याउने पृथक आस्थाका दुवै पार्टीले मूलतः कर्णालीमा संविधानतः समानुपातिक, र समावेशी सिद्धान्तलाई केही हदसम्म आत्मसात् गरी प्रतिनिधिमूलक महिला नेतृत्वलाई अगाडि बढाउँदा अहिले दुवैले ढुक्कका साथ आ–आफ्नो जित सुनिश्चितताको दावी गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्