OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १०, २०७९जुम्ला
३३७ पटक

१० कात्तिक २०७९, बिहीबार

नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व भाइटिका (दीपावली) मा खेलिने देउसी भैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।

यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरुमा मनाईने देउसी भैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमाला गरेको पाइन्छ । साँस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसी भैली खेलेको देखिन्छ ।

हिमाली जिल्लामा यसअघिका देउसी भैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो । यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो । बिडम्बना ! अचेल खेलिँदै आएको देउसी भैलीमा भैलेराहरु डिजे गीत संगीतमै झुम्मिएको पाइन्छ । देउसीमा ¥याप, पप जस्ता गीत गाइनुले सृजना फिटिक्कै देखिदैन ।

एक दशकअघि हरेकलाई हेरौं हेरौं लाग्ने देउसी भैली आज सुन्दा बुझ्न र पचाउन गाह्रो हुँदै गएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । हरेक संस्कृतिले आफ्नै सभ्यता र मौलिकता बोकेको हुन्छ,” आचार्यले भन्नुभयो, “त्यसको जगेर्ना, संरक्षण र सम्वद्र्धन गर्ने दायित्व पछिल्लो पुस्ताको हुन्छ ।”

विभिन्न साँस्कृतिक चाडपर्व, शुभसाईत, शुभ दिन, शुभ मुहर्तमा प्रकट हुने हाम्रो संस्कृति र मौलिक परम्परा आधुनिक जीवनशैलीका कारण हराउँदै जानु चिन्ताको विषय बनेको उहाँले बताउनुभयो । परिवर्तनका नाममा अनुशासनहिन् गतिविधिलाई नियन्त्रण गरेर साँस्कृतिक तथा मौलिक सम्पदालाई बचाउन सकिएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम हुने जानकार आचार्यको भनाई छ ।

अहिलेको पुस्ताले पुर्खाको बिरासतलाई बचाउने भन्दा ध्वस्त पार्ने काम गरेको जुम्ला तिला गाउँपालिका ४ जुम्ला निवासी ९९ वर्षीय ज्येष्ठ महिला कालु शाहीले बताउनुभयो । ज्येष्ठ महिला शाहीले भन्नुभयो, “हामी कहाँ १०÷१५ वर्ष अघिसम्म यस्तो देउसी भैली खेल्ने संस्कृति देखिदैनथ्यो । त्यसपछि मात्र खेल्ने हाम्रा भाइ छोराहरुको देउसी भैली राम्रो लागेर हामी पनि मिसिन्थ्यौं ।”

आजभोलिको देउसी भैली हेर्दा त निकै छाडा जस्तो लाग्ने गरेको उहाँले बताउनुभयो । शाहीका अनुसार अचेलको भैलीमा ती छा–छोरी (केटाकेटी)मा एकातिर अनुशासन देख्न पाइदैन भने अर्कोतिर गीत पनि भाका, लय र शैली नमिलेको अनि कुराको शैलीमा गीत गाउने गरेको पाइन्छ । नाच झनै उत्ताउलो किसिमको हेर्न नसकिने भएको उहाँले प्रतिक्रिया दिनुभयो ।

सोही वडाका स्थानीय ८० वर्षीय ज्येष्ठ नागरिक बीरबहादुर सिंहका अनुसार बनिबनाउ गीत गाउँने आजको पुस्ताले आफ्नो सृजना रतिपनि प्रस्तुत गर्न नसकेको तर्क गर्नुभयो । “नयाँ पुस्ताले देउसी भैलीमा न आफ्नो संस्कृति पछ्याएको छ नत आफ्नो सृजना नै पस्कन सकेको छ,” उहाँले भन्नुभयो, “यसले आजको पुस्तालाई गीत, संगीत र सृजनामा समेत परनिर्भर बनाएको छ ।”

फेरिँदै गएको देउसी भैलीले हाम्रो नेपालीपनलाई आयतित संस्कृतिमा रुपान्तरण गरेको उहाँको बुझाई छ । मूलतः संस्कृति तथा मौलिकताको संरक्षण, सभ्यताको उजागर र सृजना शक्तिमा जोड दिने संयन्त्रको निर्माण गर्नुपर्नेमा संस्कृतिसम्बन्धी जानकारहरुले गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस्