१ साउन २०७९, आइतबार
विसं.१८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने ‘हाट’ आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ ।
‘हाट’ कै कारण १२औं शताब्दीदेखि १४औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिकरुपमा बलियो भएको इतिहासमा पाउन सकिन्छ । उतिबेलाको ‘हाट’ आजको प्रमुख व्यापारिक केन्द्र जस्तै हो । सामान्यतया नेपालको पूर्व–पश्चिममा अहिले पनि मौसम र बार अनुसारको हाटबजार लाग्ने चलन निरन्तर छ ।
केही मिठो चीज वा राम्रो वस्तु लिन पर्दा ‘हाट’ जान्छु भन्ने प्रचलन आज पनि कर्णालीका दूरदराजका बस्तीहरुमा कायमै छ । यो विशेषगरी ६५ वर्ष माथिका बुढापाकाहरुले भन्ने गर्छन् । सिंजा उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित ठाँउलाई अहिले पनि ‘हाट सिंजा’ भन्छन् । अहिले त्यहाँ हाटसिंजा भन्ने गाउँ रहेको छ । जुन कनकासुन्दरी गाउँपालिकामा पर्दछ ।
‘हाट’लाई अथ्र्याउँदा दुकान भन्ने पनि लाग्छ । यद्यपि उतिबेलाको ‘हाट’ शब्दले आजको विशालबजार जस्तो पनि बुझाउँछ । यसलाई ग्रामीण क्षेत्रको एउटा सानो बजारका रुपमा पनि हेरिन्छ । अहिले भने ‘हाट’ (बजार)लाई खुला सडक वा चौरमा भन्ने अर्थ लगाईन्छ ।
यही ‘हाट’को बिरासतलाई पुनरुत्थान गर्दै सिंजा गाउँपालिका जुम्लाले आज साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको छ । जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरुले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि उक्त ‘हाट’ बजारको पुनःस्थापना गरिएको छ । गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोटमा आज विधिवतरुपमा ‘हाट’ बजार सुरु गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
अध्यक्ष धितालले भन्नुभयो, “सिंजाको संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न हामीले ‘हाट’ बजार परम्परालाई थालनी गरेका छौं । यो एउटा ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकासको कार्य हो । गाउँ सरकारले यसको प्रवद्र्धनमा जोड दिन्छ ।”
कर्णालीको इतिहास र संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले शहरको विकास भइनसकेको अवस्थामा वस्तु विनिमय गरिने स्थानलाई नै ‘हाट’ बजार भन्दै आइएको बताउनुभयो । उहाँले भन्नुभयो, त्यतिबेला अहिलेको जस्तो पैसाले किनमेल गर्न चलन थिएन । ऊन दिएर अन्न लिने, अन्न दिएर लत्ताकपडा किनिन्थ्यो । वस्तु दिएर वस्तु नै लिइन्थ्यो जहाँ सामुहिकरुपमा किनमेल हुन्थ्यो ।”
तत्कालीन् सिंजा खस राज्यबाट नै ‘हाट’ बजार खोलिएपछि गढवाल, पिथौरागढमा पनि समान किनबेच हुने गरेको इतिहासबारे जानकारी दिँदै उहाँले कञ्चनपुर पारी जोल्जोली, गोलाघाट ‘हाट’ खोलिएको जनाउनुभयो । उहाँका अनुसार जंगबहादुर राणाको अभ्युदयपछि दाङ र कान्छो ‘हाट’का रुपमा नेपालगञ्ज खुलेकोले १९औं शताब्दीपछिको पुस्ताले त्यही ‘हाट’मा जाने आउने गर्दै आएको थियो ।