OnlinePana

आज : २०७९ आषाढ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
डिल्लीप्रसाद तिवारीफागुन २६, २०७८जुम्ला,
३४१ पटक

विश्व इतिहासमा देशका नाम र सिमाना परिवर्तन भइरहेका देखिन्छन् । साम्राज्यहरु पनि लोप भएर नयाँ राज्यहरु स्थापना भएका छन् । समय र राजनितिक परिवर्तनसँगै ऐतिहासिक विरासत बोकेका ठाउँहरुका नाम परिवर्तन हुदै जान्छन् । यो स्वभाविक प्रक्रिया हो । कतिपय अवस्थामा नेतृत्वको सुझबुझले पुरानो विरासत बोकेका ऐतिहाँसिक नामहरुलाई चिरकालसम्म जीवित राख्ने प्रयास पनि गरिएको हुन्छ । सिँजा साम्राज्य बाइसे राज्यमा विभाजन भएपछि सिँजा साम्राज्यको नाम लोप भएर जुम्ला राज्यमा परिणत भयो । तर जनमानसको बोलीचालीमा सिँजा खोला भन्ने चलन रहिरह्यो ।

हुन त नेपाल एकीकरण पश्चात साविक कर्णालीको राजनितिक विभाजन दरा र पाखामा भएको पाइन्छ । पछि दरा र मौजामा कायम गरियो । पन्चायतकालमा गाउँपन्चायतको अवधारणा पछि सिँजा नाम पनि विलय भइसकेको थियो । जनआन्दोलन र संघियता पछि फेरि सिँजा शब्द नेपालको राजनितिक बिभाजनमा एउटा सानो गाउँपालिकामा सिमित भए पनि जिवित रहको छ । यसलेखमाऐतिहाँसिक विरासत बोकेको जुम्ला (साविक कर्णाली) को राजधानीका रुपमा परिचित छिनासिम नामको विलय र चन्दननाथ नामको लोकप्रियताका विषयमा ऐतिहासिक पृष्ठभूमि सहित खोतल्ने प्रयास गरिएको छ ।

राजधानी छिनासिमको स्थापना
वि.सं. १६४८ को ताम्रपत्रका अनुसार भानशाही पछि जुम्लाका राजा शालिम शाही भए । त्यसैले जुम्ला राज्यको राजधानी छिनासिम वि.सं. १६४८ भन्दा अघि नै सरेको देखिन्छ । जुम्लाका राजा सुरथ शाह पछिका उनका छोरा सुदर्शन शाह जुम्लाको राजसिँहासनमा बसेपछि छिनासिममा वि.सं. १७०२ देखि १७०९ सम्ममा भव्य दरबारको निर्माण भएको कुरा जुम्लेश्वर कल्याल महलको निर्माणको ताम्रपत्रमा दरबार बनाउनु भन्दा अघि गरिने पूजाबिधि, त्यसमा प्रयोग हुने सामाग्रीहरु र अन्य विविध जानकारीहरु रहेको कुरा योगी नरहरीनाथले उल्लेख गरेका छन् ।

वि.सं. १६४८ को ताम्रपत्रका अनुसार भानशाही पछि जुम्लाका राजा शालिम शाही भए । त्यसैले जुम्ला राज्यको राजधानी छिनासिम वि.सं. १६४८ भन्दा अघि नै सरेको देखिन्छ । जुम्लाका राजा सुरथ शाह पछिका उनका छोरा सुदर्शन शाह जुम्लाको राजसिँहासनमा बसेपछि छिनासिममा वि.सं. १७०२ देखि १७०९ सम्ममा भव्य दरबारको निर्माण भएको कुरा जुम्लेश्वर कल्याल महलको निर्माणको ताम्रपत्रमा दरबार बनाउनु भन्दा अघि गरिने पूजाबिधि, त्यसमा प्रयोग हुने सामाग्रीहरु र अन्य विविध जानकारीहरु रहेको कुरा योगी नरहरीनाथले उल्लेख गरेका छन् ।

जुम्ला जिल्लामा अन्तिम राजा शोभान शाही थिएनन्, सुर्जभान शाही थिए भन्ने मत रामनिवास पाण्डेको रहेको छ ।२योगी नरहरीनाथले पनि सूर्जभान शाहीको वि.सं. १८१६ को छिनासिम रजस्थानबाट जारी भएको लालमोहोर छापेका छन् । ३ सुर्जभान शाहीको अन्तिम जानकारीमा आएको लालमोहर वि.सं. १८३५ पुष २२ गते छिनासिमबाट जारी भएको छ ।

जसलाई योगी नरहरीनाथले छापेका छन् । सुर्जभान शाही सिँहासनमा बसेका बेला शोभान शाहीले सिँजाबाट राज्य संचालन गरेका हुनसक्छन् भन्ने इतिहासकारहरुको मत रहेको छ । वि.सं. १८४६ मा जुम्ला राज्य नेपालमा गाभिएपछि नेपालको प्रशासनिक केन्द्रका रुपमा जुम्ला जिल्लाको छिनासिम, चौघानचौर रहिआएको थियो । तर बिडम्वना के छ भने त्यसबेलाका ऐतिहासिक तथा पुरातात्विक कुनैपनि बस्तु तथा भौतिक संरचनाहरु अस्तित्वमा छैनन् । यी कसरी नामेट भए यो एक रहस्यको विषय बन्न पुगेको छ ।

को हुन चन्दननाथ ? कहिले आए जुम्ला ?
चन्दननाथ नाथ सम्प्रदायका योगी हुन् । चन्दननाथको पुख्र्यौली कहाँ थियो भन्ने बारेका कुनै तथ्य प्रमाणहरु भेटिएका छैनन् । इुतिहासकार बालकृष्ण पोखरेलको खस जातिको इतिहाँस नामक पुस्तकमा सिँजाका मल्ल राजाहरु राजस्थानको करतारपुरका जालन्धरहरु भएको उल्लेख गर्नु भएको छ । मुुसलमानको आक्रमणबाट जोगिन करतारपुरेहरु भागेर तिब्बतको पुराङ्ग र गुगेमा शरणमा गए ।

राजकुमारीलाई भेटी चढाए । सम्बन्ध जोडे । पुराङ्गका राजाले बुद्धधर्म मान्ने शर्तमा उनीहरुलाई नागराजको नेतृत्वमा सिँजामा राजधानी बनाएर राज्य संचालनको जिम्मेवारी दिई पठाए । त्यसबेलादेखि सिँजा साम्राज्यमा हिन्दु र बुद्ध धर्मको धार्मिक सहिष्णुताको विजारोपण भयो । अर्कोतिर राजखानदानमा छोरीचेली चलाउने चलन पनि चल्यो । गाउँघरमा झममौर्या जडानको राजा र झुमाचेली खसानकी राजकुमारीको विवाहको विषयका चुट्किला र मिथकहरु अहिलेसम्म गीतकारुपमा लामो कथामा गाउने चलन छ । यसले धार्मिक सहिष्णुतामा थप योगदान गरेको देखिन्छ ।

मस्ट धर्मालम्वी खसानहरुलाई मानसरोवर र कैलाशको तीर्थयात्रामा हिडेका योगीहरुको निकै प्रभाव परेको देखिन्छ । पँहेलो वस्त्रधारी योगीहरु भिक्षा माग्दै शैव धर्मको प्रचार गर्दै हिड्न थालेपछि शैव धर्म प्रति खसानको आर्कषण बढेको देखिन्छ । यसै शिलशिलामा योगी चन्दननाथ पनि मानसरोवरमा नुहाएर कैलाश पवर्तको दर्शन गर्ने अभिप्रायले जुम्लाको बाटो भएर गएको देखिन्छ । योगी नरहरीनाथको नरभुपाल शाह, कल्याल वंशावली पुस्तकको पृष्ठ ३२ मा बलिराजलाई योगी चन्दननाथले राजतिलक लगाएर सुनारगाउँमा राज्यअभिषेक गराएको कुरा उल्लेख गर्नु भएको छ । यसलाई आधार बनाउने हो भने चन्दननाथ जुम्लामा आएको सातसय पचास बर्ष पुगेको अनुमान गर्न सकिन्छ ।

लोकप्रिय चन्दननाथ
स्तम्भकार सौरभले ४ कार्तिक २०६७ को कान्तिपुरमा नेपालमा धानखेतीको शुरुवात छैटौं शताब्दीमा नरेन्द्रदेवको पालामा भएको थियो । चन्दननाथले जुम्लामा सातसय बर्ष अगाडि मात्रै धानको वीउ ल्याए । मार्सी मध्येको एउटा प्रजाति कल्टिमार कालोमार्सीको वीउ उनले ल्याएको कुरालाई अघि सारेको देखिन्छ । वासुदेव उपाध्यायले आफ्नो पुस्तक लामाविष्णुः साँस्कृतिक समन्वयका प्रतिक पुस्तकको पृष्ठ ४२ मा पृथ्वीमल्लको कनकपत्रमा मानु मुठो शब्द परेकाले सिँजा राज्यमा कनकपत्रको समयलाई आधार बनाउने हो भने करीब आठसय बर्ष अघि धानको खेती शुरु भएको अनुमान गर्न सकिन्छ भनेर उल्लेख गर्नु भएको छ । रत्नाकार देवकोटा आफ्नो पुस्तक जुम्ला जिल्लाको परिचय मा चन्दननाथसँग राजालाई जोडेको देखिदैन । तर देवकोटाले चन्दननाथलाई लाछु जिउलो र लछालकृति पैक्यालासँग जोड्नु भएको छ ।

देवकोटाका अनुसार योगी चन्दननाथले मार्सीधानको बीउ काश्मिरबाट ल्याएर तातोपानी नजिकको सुनारगाउँ वारीपट्टी लाछु जिउलाको फोक्टोमा उमारेको कुरालाई स्थानीयहरुको भनाइलाई आधार बनाएर उल्लेख गर्नु भएको छ । धान खेतीकालागि उत्पादनको परिक्षण गरेको र सफल गराएर जुम्लामा मार्सीधानको वीउको प्रसार गरेको श्रेय गुरु चन्दननाथलाई जान्छ । त्यसैकारण जुम्लामा चन्दननाथको विशेष महत्व छ । चन्दननाथलााई गुरुका नामले पुकारिन्छ । हरेक बर्ष धानको नयाँ उत्पादन चाख्ने (न्वागी) को दिन घटस्थापनाको भोलीपल्ट धानकाटेर ल्याई नयाँ धानको चिउरा कुटेर शुरुमा चन्दननाथ र भैरवनाथलाई अर्पण गरी मात्र किसानले चाख्ने चलन छ ।

चन्दननाथको मन्दिर कहिलेबाट बन्यो भन्नेबारे पनि इतिहास खुलेको छैन । वलिराजको पालामा मानसरोवर र कैलाश पर्वतको तीर्थयात्रामा आएका चन्दननाथ जुम्लामा बसे वा फर्के भन्नेकुराको पनि कुनै प्रमाण छैन । देवकोटा जुम्लामा बसे भनेर दावी गर्दछन् । वलिराजको पालामा सुनारगाउँ दरबार बनेकाले चन्दननाथ सुनारगाउँ नजिक मन्दिर स्थापना गरी बस्नुपर्ने हो । तर उनको स्मृतिमा बनेको मन्दिर हालको चौघान चौरमा बनिनुले या त चन्दननाथले दरबार नजिक बस्न रुचाएनन् । वा उनी फर्के पछि उनले परिक्षण र उत्पादन गरेका धानको उत्पादनले जनजीवनमा सहजता ल्याएकाले उनको स्मृति पादुका बनाई हालको चौघानचौर चन्दननाथ परिसरमा मन्दिर स्थापना गरिएको हुनसक्छ ।

चन्दननाथ शैवधर्मालम्बी भएकाले मन्दिरमा दत्तात्रेयको मुर्ति स्थापना गरी चन्दननाथको मन्दिरका नामले पुकारिनु स्वभाविक मानिन्छ । चन्दननाथ मन्दिरसँगै वटुक भैरवको मन्दिर पनि रहेको छ । शैव धर्मालम्वीले भैरवको मन्दिर स्थापना गर्नु पनि नयाँ कुरा भएन । तर बटुक भैरव अर्थात बालक भैरवको कल्पना कसरी गरियो यो कुरा मननीय हुनसक्छ ।

विनय रिजाल पश्चिमका मस्टहरु भन्ने पुस्तकमा प्रथम जुम्ली बाइसे राजा वलिराजको पालामा चन्दननाथको अन्तरध्यान वा मृत्यू भएपछि उनले पुज्ने गरेको दत्तात्रेयको मन्दिर बनाई पूजा गर्ने व्यवस्था मिलाइएको भन्दछन् । वि. सं. १९९२ सालको नेपाल भोट युद्धको विजय उत्सवको रुपमा ५२ हातको लिङ्गो ठड्याउन थालियो । यसअघि एउटा लिङ्गो ठड्याउदै आएको हुनुपर्छ । जुम्लाका अरु थानहरुमा रातो र सेतो रंगका कपडाहरु जोडेर पताका वा नेजा बनाएको देखिन्छ भने चन्दननाथको मन्दिरमा गेरु वा पँहेलो रंगको कपडाको मात्र प्रयोग गरिन्छ । नेपालभरीमा सायद चन्दननाथ मन्दिर एकमात्र गुम्बज शैलीको मन्दिर हो । जुन अरु कुनै ठाउँमा छैन ।

चन्दननाथ मन्दिर वास्तवमा दत्तात्रेयको मन्दिर हो । यो मन्दिर सायद चन्दननाथले आफूले पुज्ने देवता दत्तात्रेयको नामबाट स्थापना गरेको हुनुपर्छ । यसलाई पछि चन्दननाथ भन्न थालियो । यो मन्दिर र नजिकको भैरवनाथ मन्दिरका लागि नागपन्चमीको दिन लामासिम वनमा तीनवटा लिङ्गाहरु काटिन्छ । घटस्थापनाका दिन तिनैवटा लिङ्गालाई ल्याएर चन्दननाथ र भैरवनाथ मन्दिरमा गाड्ने चलन छ । हरिबोधिनी एकादशीदेखि हरिशयनी एकादशीसम्म यहाँ चर्तुमासाको विशेष पूजा हुन्छ । यो मन्दिरमा अखण्ड धुनी बलिरहन्छ । सिमखाडाका मोथु उपाध्यायले ३७२ मुरी जग्गा चन्दननाथ र भैरवनाथ मन्दिरलाई दान गरेपछि यो जग्गा राजेन्द्र विक्रम शाहको पालामा विं सं. १८८८मा आएर राजगुठीमा परिणत भएको थियो । २०७२ सालमा चन्दननाथको मन्दिरमा चोरी भएको थियो । हालसम्म पनि चोरी भएका सबै मुर्तिहरु भेटाएको वा बाकी रहेको स्पष्ट छैन । चन्दननाथ मन्दिरको आसपासमा बटुक भैरव, निल भैरव, ढोकाभैरव, ढोका गणेश, दरबार मालिकाका साना ठूला मन्दिरहरु छन् ।

चन्दननाथको राजनैतिक परिचय
ऐतिहाँसिक शक्तिकेन्द्र राजस्थान छिनासिमको नाम वि.सं. १८४६ को जुम्ला राज्य विलय पछि खासरुपमा अगाडि आउन सकेन । कतै, कतै जुम्ला सदरमुकाम छिनासिम खलङ्गा भनिए पनि यसको सदरमुकाम विशेषत खलङ्गा नै रहयो । जुम्लाको एकीकरण पछि यसको विभाजन दरा र मौजामा नै कायम रहयो । अहिले पनि बुढापाकाहरु १८ दरा र २२ पाखाको जुम्ला अर्थात साविकको कर्णाली आसपासको क्षेत्रलाई भन्ने गरेको सुनिन्छ । दराको विभाजनले हालको ऐतिहाँसिक छिनासिम असीदरा र दक्षिणको भाग पाचसय दरामा विभाजित भयो । पछि यस क्षेत्रलाई असीदरा भन्न थालियो ।

जम्मुवाल र मुखियाहरुले जग्गाको करको जिम्मा लिएपछि मौजामा परिणत भयो । त्यसबेला मान्यजन कचहरीको अवधारणा विकास भएको थियो । असीदराको मान्यजन कचहरीलाई २००६ सालमा जारीभएको गाउँपन्चायत ऐनले विकेन्द्रीकरणलाई व्यवस्थित गर्ने प्रयास ग¥यो । २००९ साल देखि ती गाउँपन्चायतहरुमा त्रिभुवन ग्राम विकास कार्यक्रमहरु लागू भए । २०१७ सालमा भएको राजनितिक परिवर्तन पछि विगतको पुरानो ऐन खारेज गरी गाउँपन्चायत ऐन २०१८, नगरपन्चायत ऐन २०१९ र जिल्ला पन्चायत ऐन २०१९ पारित भए । वि.संं. २०२२ सालमा उच्चस्तरीय प्रशासनिक शक्ति विकेन्द्रीकरण आयोगको प्रतिवेदनका आधारमा प्रथम चरणमा ३५ प्रशासनिक जिल्ला खारेज गरी ७५ विकास जिल्ला र १४ विकास अञ्चल बनाई बडाहाकिम पद खारेज भयो । यसभन्दा अघि जुम्लाले डोटी गौंडामा प्रशासनिक काम गर्ने चलन थियो । नेपालको संविधान २०१९ ले व्ववस्था गरे बमोजिम स्थानीय गाउँ पन्चायतहरु स्थापना गरिए । त्यसै अन्तरगत जुम्लाको छिनासिमलाई केन्द्र बनाई चन्दननाथ गाउँ पन्चायत बन्यो ।

२०४६ सालको राजनितिक परिवर्तन पछि चन्दननाथ गाउँ पन्चायत चन्दननाथ गाउँ विकास समितिमा परिणत भयो । मान्यजन कचहरीका अवशेषहरु मुखियाका रुपमा जुम्लामा वि.सं. २०५० सालको सर्वे नापी सम्म कायम रहे । सर्वे नापीले जमीनको वैज्ञानिक नापजाँच गरी तिरो करहरु स्थानीय गाविसबाट हुने व्यवस्था गरे पछि १८४६ सालबाट चलिआएको बडाहाकिम,जम्मुवाल र मुखियाहरु मार्फतका पुराना अवशेषहरु सदाका लागि उखेलेर फालिदियो । २०६२÷०६३ को राजनितिक परिवर्तन पछि बनेको संघिय कानुनले देशमा संघ, प्रदेश र स्थानीय पालिकाहरुको अवधारणा अनुसार जुम्लाका चन्दननाथ गाउँ विकास समिति आसपासका महत, कार्तिकस्वामी र तलिउम गाउँ विकास समितिलाई सामेल गरी चन्दननाथ नगरपालिका बनाएर दैनिक प्रशासनिक तथा विकास कार्यहरु अगाडि बढाइएको छ ।

माथिका यी सम्पूर्ण विश्लेषणबाट वि.सं. १६४८ मा राजधानीको रुपमा स्थापना भएको छिनासिम रजस्थान वि.सं १८४६ मा जुम्ला राज्य नेपालमा गाभिएपछि केही कमजोर भए पनि छिनासिमले वि.सं. २०१९ सालदेखि गुमनाम भएको र चन्दननाथ नामले यो ठाउँलाई परिचित बनाएको कुरालाई नकार्न सकिदैन ।करीब दुईसय बर्षदेखिको राजधानीको रुपमा परिचित ऐतिहाँसिक छिनासिमको नाम वि.सं. १८४६ को गोर्खाली सेनाको आक्रमणपछि एक धार्मिक गुरुको नामसँग जोडिएर परिचित हुदै गयो । वास्तवमा महत्वपूर्ण ऐतिहाँसिक र परिचित नामलाई सजिलै विस्थापन गरी एक सिद्धयोगीको नामबाट यो ठाउँले चिनिन खोज्नुका पछाडि पनि एउटा ठूलो धार्मिक झुकाव, सिद्धयोगीको जनभलाईको कार्यको प्रचार वा रणनितिक दबाब आदिले काम गरेको हुनुपर्छ ।

१ इतिहास प्रकास भाग २ पृष्ठ १४६
२ पश्चिम नेपालको इतिहास पृष्ठ ५३
३ इतिहास प्रकास भाग २ पृष्ठ १५६

चन्दननाथ मन्दिरको तस्बिर : अमृतबुढाथोकी मगर कोरपाटी फोटो सम्वाददाता

प्रतिकृया दिनुहोस्