OnlinePana

आज : २०८१ मंसिर ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
डिल्लीप्रसाद तिवारीपौष २९, २०७८काठमाडौं
१९४२ पटक

२९ पुस २०७८, बिहीबार

शीतयुद्ध समाप्त भएपछि फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य र अन्तिम मानिस’ पुस्तक मार्फत वैचारिक युग समाप्त भएको घोषणा गरेका थिए । रसियाको विघटनले दक्षिणपन्थी र बामपन्थीहरु बीचको बहसको समाप्तिको आकलन गरिएको थियो । उक्त पुस्तकको विषयलाई लिएर विश्वभरि थुप्रै प्रतिक्रयाहरु विश्वभरका पत्रिकामा छापिए । जसलाई आज पनि हामीले खोजेर पढ्न सक्छौं । त्यसै विषयको प्रतिउत्तरका रुपमा श्यामल पी हन्टिङ्टनले ‘सभ्यताको हिंसात्मक लडाई र विश्वको नयाँ स्वरुप’ पुस्तक लेखेर यसको जवाफमा अबको नयाँ विश्वमा स्थानीय राजनीति हुनेछ भने विश्व राजनीति सभ्यताहरुको हुनेछ । महाशक्तिहरु बीचको दुश्मनी सभ्यताहरु बीचको द्धन्द्धले प्रतिस्थापित गर्नेछ भन्ने सार उक्त पुस्तकमा उल्लेख गरे ।

श्यामलले विचारको बहस सभ्यतासँग जोडिएर हुने भनेर मानिसहरुको ध्यान आफूतिर खिच्न सफल भएको देखिन्छ । अहिले विश्वभरि यसको प्रभावको महसुस गरिएको छ । विश्वभरि पहिचानको खोजी भइरहेको छ । कतै मानव सभ्यताको पहिचान मानिसको वंशाणुको अध्ययनबाट गरिदै छ भने कतै विश्वका विभिन्न भूगोलमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्विक संरचनाको खोजी तथा अन्वेषण गरेर हजारौं बर्ष अगाडिको मानव सभ्यताको खोजी भइरहेको छ । नेपाल पनि स्थानीय पहिचानको खोजीमा लागिरहेको कुरा सञ्चार माध्यममा आउने समाचारहरुलाई विश्लेषण गरेपनि थाह पाउन सकिन्छ ।

पुस २७ गतेको पृथ्वी जयन्तीको विषयमा आएका विभिन्न जाती, क्षेत्र, लिङ्ग र वर्गका विचारहरुले यसको प्रमाण दिइरहेका छन् । नेपालका सरोकारवाला पाटीहरुले विचार प्रधान गरेर अघि बढे यो आन्दोलन वर्गीयतामा गएर समाहित हुनेछ । यदि विचारलाई प्रधान गर्न नसकेर श्यामलको बाटोमा हिडे मुलुक जातीयताको दलदलमा भासिने छ । नेपालमा पहिचानको बहस दिनप्रतिदिन पेचिलो हुदै गइरहेका बेला पनि सुदूर कर्णाली र सिँजा सभ्यताका विषयमा खोजी भईरहेको छैन । बारम्बार सिँजा सभ्यता र सँस्कृतिमाथि प्रहार भईरहदा पनि कर्णाली आफ्नै लयमा बेखबर भएर बहिरहेको छ । उ आफ्नै नाममा अलमल छ भने निर्माताको खोजी र प्रहारको प्रतिवाद धेरै टाढा र जटिल विषय हुने नै भयो । काठमाडौं र बाहिरी शक्तिहरुले आम नेपालीहरु माझ कर्णाली प्रतिको जस्तोसुकै मनोविज्ञान तयार गरिदिए पनि त्यसलाई चिरेर कर्णालीले फरक ढङ्गले हिड्नु जरुरी छ ।

सर्वप्रथम त जुम्ला जिल्ला होइन । यो एक ऐतिहासिक विरासत हो । आज जुम्ला शब्दलाई यो वा त्यो ढङ्गबाट सिमित र कुरुप बनाइए पनि यसको विरासत र यो शब्दले बोकेको ओजको विषयमा हालका सम्पूर्ण कर्णालीवासी जानकार हुन जरुरी छ । हिजोका विराट ऐतिहासिकता बोकेका शक्ति केन्द्रहरुलाई सके नाम फेर्ने नसके सिमित बनाउने ध्येयका साथ जुम्लालाई सिमित बनाउदै कर्णाली र भेरी नामलाई अगाडि ल्याइएको थियो । संघीयताको अभ्यास पछि ६ नं प्रदेशको नामाकरणमा पनि नेपालकै विराट ऐतिहासिक क्षेत्रले ऐतिहासिक नाम जुराउन सकेन । फेरि पनि उही कर्णाली नामलाई सदर गरिदियो । जसले फेरि पनि यो क्षेत्र ऐतिहाँसिक विरासतको नयाँ सन्देश र स्वाभिमानको आत्मा मारेर गरिबी र भोकमरीको पर्याय बनेको कर्णाली शब्दसँग रमाएको पाइयो ।

जुम्ला जिल्लाको नामको विषयलाई लिएर इतिहासकारहरुबाट फरक फरक धारणाहरु अघि सारिएको पाइएको छ । जुम्ला जिल्लाको ऐतिहासिकता उल्लेख नभए पनि नाममा मिथक जोडेर बनेको भन्ने मतमा रत्नाकर देवकोटा, राजाराम सुवेदी, आर.डि. प्रभास चटौत, र विकिपिडिया रहेका छन् । यी सबैको धारणा जुम्ली प्राज्ञ रत्नाकर देवकोटाको जुम्ला जिल्लाको रुपरेखा पुस्तकमा उल्लेखित मिथकमा मिल्न जान्छ । प्राध्यापक राजाराम सुवेदीले प्राचीन नेपाल पत्रिकाको ८३औ अंकको पेज नं २२ मा उदम्वरपुरी शीर्षक अन्तरगत रहेर जुम्लालाई पहिले यमिला भनिने भन्दै देवकोटाको भनाइलाई समर्थन गर्नु भएको छ । त्यसैगरी चटौतले डोट्याली शब्दकोषको पृष्ठ २९४ मा जुम्लाको अर्थ लेख्नेक्रममा देवकोटाको मिथकलाई समर्थन गर्नु भएको छ ।

विश्वप्रसिद्ध विकिपिडियाले पनि जुम्लाको परिभाषालाई देवकोटाको परिभाषासँग जोडेको पाइएको छ । रत्नाकर देवकोटाले जुम्ला जिल्लाको रुपरेखा पुस्तकमा जुम्ला शब्दको अर्थ दिने क्रममा परापूर्वकालमा खलङ्गामा रहेको चन्दननाथ मन्दिरका देवता स्वामी दत्तात्रेय मुनिलाई डस्न दुईओटा अजंगका नाग आउदा स्वामीको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भई देवल र गरल नामका दुई जुम्ल्याहा डाँडा बनेका छन् । ती दुई जुम्ल्याहा डाँडाको नामबाट जुम्ला नाम रहन गयो भन्ने उल्लेख गर्नु भएको छ । सिँजा सामाज्य बाइसे राज्यको विघटन भएपछि मात्र चन्दननाथ जुम्लामा आएको भन्ने इतिहासकारहरुको मत रहेको छ । स्वामी दत्तात्रेयको स्थापना चन्दननाथले पछि गरेका कारण देवकोटाको मिथकको समय मिलेको देखिदैन । अर्कोतिर यो काल्पनिक मिथक भएकाले त्यसको खासै विश्वास गरिहाल्ने आधार र वैज्ञानिकता पनि देखिदैन ।

जुम्ला नामको उत्पत्ति र विकासको विषयमा इतिहासकारहरुले देवकोटाको भन्दा फरक मत राखेका छन् । जसको नेतृत्व योगी नरहरिनाथ लगायतका इतिहासकारहरुले गरेका छन् । नेपाल एकीकरण अभियानको अन्तिम समयसम्म पश्चिम नेपालको एक शक्तिशाली राज्यका रुपमा जुम्ला राज्य अस्तित्वमा रहेको पाइन्छ । सत्यमोहन जोशीका अनुसार नेपाल उपत्यकाको पश्चिमतिर शक्तिशाली मल्लहरु थिए भन्ने कुरो पाँचौ शताब्दीका राजा मानदेवको चाँगुको शिलालेखमा उल्लेख भएको छ । डि.आर. रेग्मीका अनुसार कर्णाली प्रदेशमा पुराङ र गुँगेबाट दुहु शासन चल्दथ्यो । ती ठाउँहरु हाल तिब्बतमा पर्दछन् । जोसेप टुचीका अनुसार पश्चिमी तिब्बतको नाम झानझुम थियो । गँुगे त्यसको एउटा भाग थियो । ताक्लाकोट राजधानी भएको दक्षिण पूर्वको भाग पुराङ थियो । खसहरुले तिब्बतमा हमला गरेर पश्चिमी तिब्बतलाई फुटाएका थिए ।३ तिब्बतबाट फुटाएको दक्षिणी भुभागलाई तिब्बतीहरुले याचे भन्दथे ।४ जुन याचेका रुपमा पछिसम्म कायम रह्यो ।

खसहरुले य लाई ज भनेर उच्चारण गर्न थाले । यसबाट यस क्षेत्रको नाम जाचे भनिन थालियो । कुमाउको अल्मोडा नजिक बनेका देवलहरु त्यही समयमा बनेको हुनुपर्छ । जसलाई जावेश्वर भनिन्छ । जसरी आग्रामा गोपेश्वर धाम बनाएर त्यस आसपासको तराइको भूभागलाई धार्मिक नाम गोपेश्वर भनियो । गढवालमा वालेश्वर धाम बनाएर आसपासको ठाउँ वालेश्वर भयो । ठिक त्यसैगरी याचेलाई जाचे भनिदै गर्दा रैका राजा क्राचल्लका पालामा कुमाउलाई जितेपछि समग्र जाचेको जावेश्वर धाम बनाइयो । पछि यो समग्र कर्णाली क्षेत्र अर्थात सिँजा साम्राज्यलाई जावेश्वर भन्न थालियो । उसो त वासुदेव उपाध्यायले आफ्नो पुस्तक ‘लामा विष्णुः साँस्कृतिक समन्वयका प्रतीक’ मा हालसम्म पनि सिँजा उपत्यकामा जाच गाउँ अस्तित्वमा रहेकाले याचे र जाचे एउटै हुनसक्ने कुरालाई संकेत गर्दछन् ।

वि.सं. १४१४ को दुल्लुको कीर्तिस्तम्भमा अथ खारिप्रदस्योः यो जावेश्वरत्तामगातेन श्री नागराजेन सिँजापुर्याः स्थितिकृताः अर्थात अब खारीप्रदेशमा जो जावेश्वर(जुम्लेश्वर)हुन गए ती श्री नागराजले सिँजापुरीमा राजधानी स्थापित गरे । त्यहाँ लेखिएकोबाट यो कुरा प्रष्ट हुन्छ । नागराजको पालादेखि शुरु भएको राज्य बिस्तार निरन्तर चलिरहयो । बलिराजको वि.सं. १४५७ को अभिलेखमा जुम्लास्थाने सुवर्नहार नाम नगरे (अर्थात जुम्ला सुनारगाउँ)५ भएबाट यसभन्दा अघि पनि जावेश्वरलाई जुम्ला भनिन्थ्यो भन्ने प्रमाण मिल्दछ । योगी नरहरीनाथले जुम्लेश्वर वंशावलीमा भानशाही जुम्लाको पहिलो राजा उल्लेख गरेका छन् । भानशाहीको वि.सं १५१३ को ताम्रपत्र देखिन्छ ।६ अंग्रेज खोजकर्ता ह्यामिल्टनले जुम्लाको सिमाना पश्चिममा गढवाल, पूर्वमा मुस्ताङ, उत्तरमा कागकोटीसम्म उल्लेख गरेका छन् । उनले जुम्लालाई यामिला भनेका छन् । य लाई ज उच्चारण गरिने सन्दर्भमा यसो भएको हुनसक्छ ।

सत्यमोहन जोशीका अनुुसार सिँजाखोलाका ठकुरीहरु आजतक पनि आफ्ना प्राचीन पूर्खाहरुमा सर्वप्रथम स्थान जालन्धरी राजालाई दिन्छन् । स्थानीय पारिवारिक वंशावली र कागजपत्रहरुमा जालन्धरी राजा नै प्रमुख पूर्वपुरुष झै मानिएको पाइन्छ ।७ त्यसैगरी डा.सूर्यमणी अधिकारी लेख्छन् अन्य प्रमाणले अन्यथा सिद्ध नभएमा जालन्धरी मल्ल भनिने अत्यन्त प्रभावशाली राजकुमार आनन्द मल्लका छोरा नातीहरुलाई जालन्धरी खलका भन्ने गरिएको छ । र त्यसपछिकाले त्यही नामले खस साम्राज्यलाई याद गरेको प्रतित हुन्छ ।८ यसलाई आधार बनाउने हो भने जावेश्वर (जुम्लेश्वर) शब्दको प्रयोग दुल्लुको कीर्तिस्तम्भको स्थापना भन्दा ६८ वर्ष अगाडि वि.सं. १३४६ मा राजा बनेका जितारी मल्लका भाई आनन्द मल्लका पालाबाट लिखित रुपमा शुरु भएको प्रमाण मिल्दछ ।

कुमाउँका इतिहासमा जागेश्वर धाम कत्युरी वंशका राजाले बनाएका थिए भनिएको छ । लिखित प्रमाण भेटिएको छैन । आनन्द मल्लका सन्तानहरुलाई जालन्धरी भिनिएबाट उनीहरुबाट नै जावेश्वर धाम बनाइएको हुनुपर्छ । माथिका सबै तथ्यहरुलाई र उपलब्ध प्रमाणका आधारमा गुगे र पुराङ्को दक्षिणी भूभाग हिमवत खण्डलाई तिब्बतीहरुले याचे भन्थे । खसहरुले यसलाई जाचे भने । जाचेमा जागेश्वर धाम बनाएर तत्कालीन राजाहरु जावेश्वर बने । यस क्षेत्रलाई जावेश्वर भन्न थालियो । सामान्तहरुले फरक फरक ठाउँबाट करद उठाउने र रेखदेख गर्ने भएकाले केन्द्र शासित भूभागलाई जावेश्वर भनियो । जावेश्वरलाई जुम्लेश्वर र कतै यमिला भन्न थालियो । पछि यसले जुमिला हुदै जुम्लाका रुपमा परिचित हुने मौका पायो । यसरी हेर्दा याचे–जाचे–जावेश्वर, जुम्लेश्वर–यामिले–जुमिले हुदै जुम्ला शब्द प्रमाणितरुपमा करीब ७३२ वर्ष अघिदेखि ऐतिहासिक विरासत बोकेर हामीमाझ अस्तित्वमा रहिआएको छ ।

अन्त्यमा, जुम्ला शब्द ऐतिहासिक मात्र होइन हाम्रा पुर्खाको रगत र पसिनाबाट आर्जेको पदवी हो । चाहे हिजो कुनै राजाले त्यसको उपयोग किन नगरोस् । यो शब्दसँग हामी सबैको इतिहास, पौरख, विजय, स्वाभिमान, रगत र पसिनाको सम्बन्ध छ । यसलाई बिर्सेर नदी, पहाड, झरना र खोलाका गीत गाउन पुग्नु प्रगतिशील पाइलाहरुलाई रोकेर विश्राम लिनु हो । यो कर्णालीका लागि शुभ मान्न सकिदैन ।

सन्दर्भ सामाग्रीहरुः

१ कर्णाली लोकसंस्कृति भाग १ को पृष्ठ १९
२ मध्यकालीन नेपाल पृष्ठ ७१०
३ प्रिलिमिनरी रिपोर्ट अफ टु साइन्टिफिक एक्सपेन्डिसन
४ डिआर रेग्मी मध्यकालीन नेपाल पृष्ठ ७११
५ सूर्यमणी अधिकारी, खससाम्राज्यको इतिहास, पृष्ठ ३१
६ इतिहास प्रकाश भाग २ पृष्ठ १२२–१२३
७ कर्णाली लोकसंस्कृति भाग १ पृष्ठ ८२
८ खस साम्राज्यको इतिहास पृष्ठ ५६
१०. जुम्ला जिल्लाको रुपरेखा
१२. डोट्याली शब्दकोष
१३. प्राचीन नेपाल
१४. विकिपिडिया

प्रतिकृया दिनुहोस्