OnlinePana

आज : २०८३ साउन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०८३काठमाडौं
१८ पटक

२४ साउन २०८३, आईतबार

सुर्खेतः खाना पकाउने एलपी ग्याँसको अभाव हटाउन तथा उपभोक्ता अधिकारलाई सुरक्षित गर्न सुर्खेतमा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा साउन महिनामा भएको ग्याँस अभाव, आपूर्तिमा असहजता र त्यसबाट जनजीवनमा परेको प्रभावबारे सरोकारवालाहरु बीच छलफल भएको हो । उक्त छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले ग्याँस अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएको जनाउँदै तत्काल यो समस्या समाधानमा सबै सरोकारवालाहरु गम्भीर भएका लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “सुर्खेतमा कति ग्याँस सिलिण्डर चाहिन्छ ? अभाव सिर्जना कसरी भयो ? यसको माग र आपूर्तिको सन्तुलन मिल्ने गरी नेपाल आयल निगमले व्यवस्था गर्नुपर्दछ र अधिकृत बिक्रेताहरुबाट पारदर्शी तवरबाट वितरण हुनुपर्दछ ।” वितरणमा देखिएका सुरक्षा चुनौतिलाई व्यवस्थापन गर्न प्रशासन निरन्तर लागिरहेको बताउँदै अभाव हुन नदिन आयल निगम आग्रह गर्नुभयो ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले देशैभरि ग्याँस आपूर्तिका लागि भारतीय आयल निगमसँग पहल भइरहेको बताउनुभयो । यो महिनाका लागि ५५ हजार मेट्रिक टन ग्याँस सिलिण्डर माग गरिएको बताउँदै उहाँले अति प्रज्ज्वलनशील वस्तु भएकोले ग्याँस ढुवानीका निम्ति भारतीय ६५० बुलेटमा आयात गर्ने गरेको जनाउनुभयो । बजारमा ह्वात्तै माग बढेकोले एकैपटक आपूर्ति गर्न कठिनाई भएको प्रवक्ता ठाकुरको भनाई थियो ।

नेकपा एमाले सुर्खेत जिल्ला कमिटि अध्यक्ष कुलमणि देवकोटाले ३८ हजार घरधुरीसहित निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र, प्रहरी, विश्वविद्यालय, माविमा अध्ययनरत विद्यार्थी, विभिन्न उद्योग व्यवसायमा काम गर्ने नागरिकहरु राजधानी सुर्खेतमा केन्द्रित भएकोले यहाँ ग्याँस सबैभन्दा बढी चाहिने र त्यसको तथ्याङ्क एकिन गरी यहाँको माग अनुसार निगमले आपूर्तिको व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो । विद्यार्थी, सुत्केरी र अपांगता भएका व्यक्तिलाई प्रशासनको कुपनमार्फत प्राप्त गर्ने व्यवस्थाका लागि उहाँले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई अनुरोध गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित नन्दनी ट्रेडर्सका प्रमुख मनोज दाहालले भेरी ग्याँस मात्र ७० देखि ८० हजारको आवश्यक भएको बताउनुभयो । माग अनुसारको ग्याँस उपलब्ध हुन नसक्दा नागरिकहरुले हरेक दिन राति सडकमा लाइन लागेर बस्नुपर्ने बाध्यता आईलागेको उहाँले जनाउनुभयो । छलफलमा राजनीतिक दल, प्रहरी प्रशासन, व्यापार, व्यवसायी, उद्योगी, कर्मचारी, अभियान्ता, पत्रकार सञ्चारकर्मीहरु सहितको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्