
१३ असार २०८३, शनिबार
सुर्खेतमा डिजिटल मिडियाका सम्भावना र चुनौतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता कायम राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताउनुभयो। तथ्यमा आधारित तटस्थ र सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारहररु अझ जिम्मेवार लाग्नुपर्ने उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले डिजिटल मिडियाले पत्रकारितामा नयाँ अवसर सिर्जना गरे पनि भ्रामक सूचना, अपुष्ट समाचार र सामाजिक सञ्जालको दुरुपयोग जस्ता चुनौतीसँग जुध्नुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार पत्रकारहररुको क्षमता अभिवृद्धि र डिजिटल सीप विकास आवश्यक रहेको देखिन्छ ।
गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले डिजिटल मिडियाले नागरिकलाई सूचनामा सहज पहुँच दिलाएको बताउनुभयो । उहाँले यसको प्रभावकारी उपयोगका लागि जिम्मेवार पत्रकारिता आवश्यक रहेको तर्क गर्नुभयो । सञ्चारमाध्यम र सरोकारवाला निकायबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने उहाँको सुझाव थियो ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्तले डिजिटल पत्रकारिताले सूचना प्रवाहलाई छिटो, सहज र व्यापक बनाएको उल्लेख गर्दै यसको विश्वसनीयता, व्यावसायिकता र आचारसंहिताको पालनामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डिजिटल मिडियाको तीव्र विस्तारसँगै पत्रकारहरूको जिम्मेवारी पनि बढ्दै गएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीले डिजिटल पत्रकारिता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहररुले आफ्नो क्षमता, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । यस्ता कार्यक्रमले पत्रकारहरुबाट पत्रकारिता र यसको मर्यादाबारे आदानप्रदान गर्न र डिजिटल पत्रकारिताका अवसर तथा चुनौतीबारे साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा सुर्खेतमा कार्यरत पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।







