
१० असार २०८३, बुधबार
सुर्खेतः वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि रु.चार अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १९औं नगरसभामा आज पेश गर्नुभएको बजेट वक्तव्यमार्फत नगरपालिकाको आगामी आव. २०८३÷०८४ का लागि पूँजीगततर्फ रु.तीन अर्ब दुई करोड ७० लाख ८२ हजार ८०० (६४ प्रतिशत) र चालुतर्फ रु.एक अर्ब ६८ करोड ३१ लाख ८९ हजार २०० (३६ प्रतिशत) बजेट विनियोजन गरिएको बताउनुभयो ।
आव. २०८३÷०८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत मध्ये संघीय वित्तीय समानीकरण अनुदान रु.२४ करोड ६० लाख, सशर्त अनुदान रु.दुई अर्ब ६७ करोड ९६ लाख, संघीय राजश्व बाँडफाँड रु.२१ करोड ३६ लाख ४७ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु.तीन करोड ५३ लाख ३५ हजार रहेको उपप्रमुख खनालले बताउनुभयो ।
त्यस्तै, प्रदेश सशर्त अनुदान रु.५० करोड ५३ लाख ७२ हजार, राजश्व बाँडफाँड रु.४४ लाख ११ हजार, संघीय तथा प्रदेश समपुरक र विशेष अनुदान रु.चार करोड ५९ लाख, स्थानीय राजश्व बाँडफाँड रु.१८ करोड, नगरपालिकाकाबाट संकलित कर तथा गैर कर आन्तरिक आय रु.३३ करोड छ लाख ६५ हजार, बैंक मौज्दात रु.तीन करोड ९३ लाख ५७ हजार र सामाजिक सुरक्षा अनुदान रु. ४३ करोड रहेको उहाँले जनाउनुभयो ।





