OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १३, २०८३
३७ पटक

१३ बैशाख २०८३, आईतबार

सुर्खेतः मध्यपश्चिम विश्वविद्यालयमा “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नारासहित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ आज सम्पन्न भएको छ ।

भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ले ज्ञान तथा अनुभव आदानप्रदान, अनुसन्धानको स्तरवृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तार, कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणमा जोड दिइएको छ ।

सम्मेलनका क्रममा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियामार्फत डिजिटल रूपान्तरणका अवसर र चुनौती लगायत विविध विषयबारे गहन छलफल भएको थियो । सम्मेलनले बहुविषयगत सहकार्य, ज्ञान आदानप्रदान र अनुसन्धानको स्तर अभिवृद्धि गर्दै शैक्षिक तथा प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको निष्कर्ष निकालिएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्राडा. ध्रुवकुमार गौतमले सम्मेलनमा छलफल भएका कुरा कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । उपकुलपति गौतमले सम्मेलन सफल तुल्याउन मन, वचन र कर्मले समर्पित हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसैगरी सक्रियतापूर्वक समुह कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा रजिष्ट्रार प्राडा. शोभाखर कँडेलले अन्तरराष्ट्रिय सम्मेलनले विश्वविद्यालयको उचाई बढाएको बताउनुभयो । उक्त अवसरमा सम्मेलनको समग्र प्रगति प्रतिवेदन सम्मेलन व्यवस्थापन समितिका संयोजक डा.यदुप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो भने प्रमुख वक्ताका रुपमा निम्त्याइएका बेलायतका प्राडा. जोनाथन रिक्स र साझेदार निकाय समाज जागरण केन्द्र (स्याक) नेपालका टिकाराम आचार्यले समापन मन्तव्यका क्रममा सम्मेलन ऐतिहासिक बनेको धारणा व्यक्त गर्नुभएको थियो ।

बिरला ग्लोबल विश्वविद्यालयका प्रतिनिधि डीन प्राडा. अर्चना चौधरी, जर्मनीबाट प्रमुख वक्ताको रुपमा निम्त्याइनुभएकी प्राडा. सुसान्ने र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. अच्युतप्रसाद वाग्ले सहितका वक्ताहरुले मानव समाजमा हाल देखिएका चुनौतिहरुको सामाना गर्न समन्वय, सहकार्य र एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.विष्णुकुमार खड्काले जानकारी दिनुभयो ।

उनीहरुले कृत्रिम बुद्धिमता, डिजिटल रुपान्तरण र दीगोपनको भूमिका सम्बन्धी विषयमा अन्तरविषयगत सहकार्य र विश्वव्यापी ज्ञानलाई आदानप्रदान गरी समावेशी, दीगो नवप्रवद्र्धनशील समाज निर्माणमा सम्मेलन कोसेढुंगा सावित हुने धारणा राखेका थिए । सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित देशभरका उपकुलपतिहरु सम्मिलित राउण्डटेबल छलफलमा विश्वविद्यालयका विद्यमान समस्या, चुनौती सम्भावना र अवसरबारे उच्चस्तरीय प्राज्ञिक मन्थन भएको थियो ।

त्यसैगरी, कृत्रिम बुद्धिमत्तता र विश्वव्यापी रुपान्तरणले हाम्रो जीवनशैली, अर्थतन्त्र, शासन प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेकोले यो अवस्थामा दीगो भविश्य निर्माणका लागि अन्तरविषयगत सहकार्य र बहसको अपरिहार्यता दर्शाइएको मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिनुभयो ।

सम्मेलनमा उपकुलपतिहरु प्राडा. ध्रुवकुमार गौतमसहित पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. धनेश्वर नेपाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा.विजुकुमार थपलिया, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा.अच्युतप्रसाद वाग्ले, गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा.कृष्णप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्राडा.अमरप्रसाद यादव, सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा.यज्ञराज भट्टलगायत वीरेन्द्रनगर सुर्खेतमा तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति, सरकारी तथा गैरसरकारी निकाय एवम् अन्य साझेदार संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनका निष्कर्षहरु

मध्यपश्चिम विश्वविद्यालयमा बैशाख ११–१३ गतेसम्म सञ्चालन भई आज सम्पन्न भएको ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ ले तपसिल बमोजिमका निष्कर्ष निकालेको छ ।

पहिलोः सम्मेलनबाट आएको एउटा स्पष्ट सन्देश “डिजिटल विभाजनको विरोधाभास” हो । हामी डिजिटल उपकरणहरू प्रयोग गर्न चाहन्छौं तर दुर्गम क्षेत्रका मानिसहरू पछाडि नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ । डिजिटल प्रगतिले असमानता बढाउनु होइन, घटाउनु पर्छ ।

दोस्रोः आज हामीले “सुर्खेत घोषणापत्र” अंगीकार गरेका छौं । यो हाम्रो छलफललाई ठोस प्रतिबद्धतामा रुपान्तरण गर्ने महत्वपूर्ण कदम हो । अगाडि बढ्न प्रभावकारी रूपमा हामीले यी व्यावहारिक कार्यहरुमा ध्यान दिनुपर्छ ।

तेस्रोः नेपाली डायस्पोरासँग बलियो र नियमित सहकार्य गर्न “डायस्पोरा सम्पर्क कार्यालय” स्थापना गर्ने ।

चौथोः कर्णालीको समृद्ध जैविक विविधताको उपयोग गर्न “डिजिटल हर्बेरियम तथा वेलनेस पर्यटन पहल” सुरु गर्ने ।

पाँचौंः हाम्रो सांस्कृतिक तथा भाषिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भाषामा एआई उपकरणहरू विकास गर्ने ।

छैटौंः विश्वविद्यालयहरूलाई अझ वातावरणमैत्री बनाउन “हरित क्याम्पस रोडम्याप” कार्यान्वयन गर्ने ।

सातौंः प्रगति अनुगमन गर्न र नतिजा सुनिश्चित गर्न बलियो अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गर्ने ।

आठौंः अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ ले हामीलाई देखाएको छ कि वास्तविक प्रगति तब हुन्छ जब विश्वव्यापी ज्ञान स्थानीय बुद्धिमत्तासँग मिल्छ । प्रविधि मानवीय मूल्यद्वारा निर्देशित हुन्छ र विभिन्न क्षेत्रहरूबीच सहकार्य हुन्छ ।

नवौंः यस सम्मेलनको समापन गर्दै, हामी केवल नयाँ विचारहरू लिएर होइन, दृढ संकल्पसहित अगाडि बढौं। कर्णालीलाई थप सम्मेलनहरू मात्र होइन, निरन्तर सहकार्य, लगानी र व्यवहारिक कार्य आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस्