
११ चैत २०८२, बुधबार
सुर्खेतः कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतले यहाँका स्थानीय तहहरुलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ ।
मुख्यमन्त्री कार्यालयले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालाहरुलाई सहिद स्मृति भत्ता र घाईते अपांगता भएका व्यक्तिहरुलाई जीवन निर्वाह विशेष भत्ता वितरण भएको चालु आ.व.२०८२÷०८३ साउनदेखि पुस महिनासम्मको प्रतिवेदन र माघपश्चात् असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरुको आवेदन संकलन तथा एकीन गरेर पठाउन ताकेता गरेको हो ।
‘सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाईते अपांगता भएका व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ मा भएको व्यवस्था बमोजिम कार्यविधिको अनुसूची १ बमोजिम माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्रहीहरुको आवेदन संकलन तथा एकीन गरी अनुसूची २ अनुसारको ढाँचामा लाभग्रहीको विवरण पठाउन परिपत्र गरिएको मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।
साउनदेखि पुस महिनासम्म वितरण गरिएको सहिद स्मृति तथा जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन यही चैत १५ गतेभित्र पठाइसक्नु पर्ने र त्यसपछि यस कार्यालयबाट रकम निकासा गरिने कुराको जानकारी गराईएको शाखा अधिकृत कँडेलले बताउनुभयो ।





