

२ चैत २०८२, सोमबार
कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा फागुन महिनामा मात्रै ७६ सवारी साधन दुर्घटना भएका छन् । उक्त महिनामा भएको सवारी दुर्घटनामा एक महिलासहित चारको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
वीरेन्द्रनरमा आज सार्वजनिक तथ्याङ्क अनुसार फागुन महिना भएको यस प्रकारको सवारी दुर्घटना हुनुमा मानवीय त्रुटि प्रमुख कारण देखाइएको छ । सवारी दुर्घटना संख्या ५१ हुँदा ८० प्रतिशत मानवीय त्रुटि र बाँकी यान्त्रिक कारणले भएका छन् । सबैभन्दा बढी मोटरसाईकल (४८), टेम्पो (१०), मिनिबस (७), बस (५), जीप÷कार (४) र ट्रयाक्टर (२) दुर्घटना भएको उल्लेख गरिएको छ ।
३४ सवारी दुर्घटना अर्थात् (६६ प्रतिशत) तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख रोहीतकुमारी शाहीले जानकारी दिनुभयो । त्यस्तै, मादक पदार्थ सेवनबाट तीन, चालकको असक्षमताबाट तीन, चढ्दा÷ओर्लदा एक र ब्रेक फेल भएर आठ दुर्घटना भएको उहाँले बताउनुभयो ।
फागुनमा ट्राफिक तथा जनपद प्रहरीले ६४० चेकजाँच गर्दा ४०२ लाई कारवाही गरेको र त्यसबाट रु.तीन लाख ९१ हजार ५०० राजस्व संकलन भएको कार्यालय प्रमुख शाहीले बताउनुभयो । त्यस्तै, ट्राफिक प्रहरी एक्लैले ११७ जाँच गर्दा २३५ कारवाही परेका छन् । त्यसबाट रु.एक लाख ९२ हजार ५०० गरी कुल जम्मा रु.पाँच लाख ८४ हजार एक महिनामा राजस्व संकलन गरिएको उहाँको भनाई छ ।
त्यसैगरी, चालकसँग एक मिनेट कार्यक्रमबाट छ हजार ६६३, पैदल यात्रु लक्षित कार्यक्रमबाट ५१६, संघ संस्था लक्षित सचेतना कार्यक्रमबाट एक हजार ७५४ र सवारी चलाउने चालक सचेतना कार्यक्रमबाट १२८ गरी कुल १८ हजार ५४३ जना लाभान्वित भएको जनाइएको छ । ट्राफिक नियम पालना सम्बन्धी सचेतनामूलक कार्यक्रम व्यापक रुपमा अगाडि बढाएको उक्त कार्यालयले बताएको छ ।






