

१ चैत २०८२, आईतबार
श्रम संस्कृति पार्टीले समानुपातिक प्रणाली अन्तरगत कर्णाली प्रदेशबाट राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ ।
उक्त पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी÷जनजातिबाट पुरुष पूर्णप्रसाद लिम्बु, (संखुवासभा) खस आर्य महिलातर्फ अम्बिका देवी संग्रौला (झापा), दलित महिलामा राधिका रम्तेल (सुर्खेत) तथा मधेशी महिलातर्फ रुबी कुमारी ठाकुर (धनुषा)को नाम समानुपातिक सांसदमा सिफारिस गरी सार्वजनिक गरिएको छ । पार्टीको विधान, योग्यता र क्षमताका आधारमा छनोट गरिएका उम्मेदवारहरुको नाम आजै सम्बन्धित निकायमा पठाइसकिएको उहाँले बताउनुभयो ।
लिम्बु र संग्रौला कोशी, ठाकुर मधेश र रम्तेल कर्णालीबाट समानुपातिक सांसदमा सिफारिस हुनुभएको हो । सो पार्टीले निर्वाचनमा भाग लिन प्रत्यक्ष तर्फबाट १०९ र समानुपातिकतर्फ ११० उम्मेदवार उठाएको थियो । प्रतिनिधिसभा निर्वाचन–२०८२ तोकिएको तीन महिना अघि मात्रै स्थापना भएको हर्क साम्पाङ्ग राई नेतृत्वको श्रम संस्कृति पार्टीले तीन प्रत्यक्ष र चार समानुपातिक सांसद सिट ल्याएर देशकै पाँचौ राष्ट्रिय पार्टीका रुपमा स्थापित भएको छ ।
उक्त पार्टीले प्रत्यक्ष तर्फ तीन लाख ६९५ र समानुपातिकतर्फ तीन लाख ८५ हजार ९०५ मत प्राप्त गरेको थियो । नेपालको सविधानमा समानुपातिक समावेशिता व्यवस्था भए बमोजिम श्रम संस्कृति पार्टीले देशका अन्य प्रदेश भन्दा कर्णाली प्रदेशलाई विशेष महत्व दिएर समानुपातिक सांसदको सिट उपलब्ध गराएको भन्दै उक्त पार्टीका कर्णाली प्रदेश प्रवक्ता दीपक सावदले अभार व्यक्त गर्नुभएको छ ।





