

१४ फागुन २०८२, बिहीबार
नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाली काँग्रेस नेतृत्वको सरकारले मात्र कर्णाली र मधेशका पीडा सम्बोधन गर्ने सक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस कर्णाली प्रदेश समितिद्वारा आज राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विशाल चुनावीसभा’लाई सम्बोधन गर्दै सभापति थापाले फोहोर राजनीतिक अभ्यासका कारण कर्णाली र मधेशको अपेक्षित विकास हुन नसकेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेस बदलिएको छ, अब देश पनि काँग्रेसले नै बदल्छ छ । जिताउनुस् हाम्लाई, अब आगामी २०८७ सालसम्मको अवधिलाई हामी ‘स्वर्ण काल’ बनाइदिन्छौं ।”
काठमाडौंको अनुकूलतामा हुने विकासले कर्णालीको विकास नहुँने बताउँदै उहाँले यहाँको विकासको ढाँचा बदल्न आर्थिक वर्ष कार्तिक मसान्तलाई बनाउन आवश्यक रहेको जनाउनुभयो । कर्णालीका आमा र बच्चामा लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले दुई अतिवादी सोचले देश बर्बाद भएको टिप्पणी गर्नुभयो । एउटा यथास्थितिवादी र अर्को उत्तेजनापूर्ण तवर जनतामा देखिएको शक्तिलाई पर राखेर काँग्रेसले आगामी पाँच वर्षलाई बदलावको वर्ष बनाउने सभापति थापाको दावी थियो ।
संविधानलाई ट्रयाकमा ल्याउन चुनाव आवश्यक रहेको जनाउँदै उहाँले अहिले देखिएका तमाम् संशय चिरेर एक हप्तापछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सम्पन्न हुने बताउनुभयो । काँग्रेसले यही व्यवस्थामा जनताको अवस्था बदल्ने र मुलुकलाई कुनैपनि हालतमा दुर्घटना हुन नदिने उहाँको जिकिर थियो ।
उपसभापति पुष्पा भुसालले नेपाली काँग्रेसले १५ लाख युवालाई रोजगारी दिने गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउनुभयो । उहाँले भ्रष्टाचार, सम्पतिको छानबीनका लागि आफ्ना मान्छे पठाउने संस्कारको पूर्ण अन्त्य हुने जनाउनुभयो । “आन्दोलन, दृष्टिकोण, संगठन, विचार र सिद्धान्त नभएका शक्तिसँग हामीले जुध्नुपरेको छ । यसमा जनताको साथ सहयोग आवश्यक छ,” उपसपभाति भुसालले भन्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस सुर्खेत जिल्लाका सभापति खड्गबहादुर पोखरेल, सुर्खेत क्षेत्र नं.१ र २ का उम्मेदवारद्वय विष्णुबहादुर खड्का, नारायणकुमार कोइराला, दैलेख क्षेत्र नं.२ का उम्मेदवार दिक्पाल शाहीलगायतका नेताहरुले काँग्रेसले देश निर्माणमा विभिन्न कालखण्डमा खेलेको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभएको थियो ।








