

१५ माघ २०८२, बिहीबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल अनुशासन, एकता र सक्रियताबाट मात्र लक्ष्य प्राप्ति संभव भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा सुर्खेत क्षेत्र नं. १ वीरेन्द्रनगरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जनताको हित गर्ने चुनावी अभियानको परिवर्तित शैलीबाट मात्र कुनैपनि पार्टी, संगठन वा संस्थाले अपेक्षित परिणाम प्राप्त गर्ने बताउनुभयो । भीडभाड र ठूलो सभा भन्दा पनि मतदाता नामावली रहेको स्थानमा केन्द्रित भई योजनाबद्ध रुपमा जनताको भविश्य कोर्ने मागचित्र तयारीमा लाग्न उहाँले नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
नेकपा एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री कँडेलले पार्टीको केन्द्रदेखि टोलसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रित हुन सुझाउनुभयो । प्राप्त मतकै आधारमा नेतृत्वको मूल्याङ्कन हुने जनाउँदै पार्टी संगठन बलियो बनाउन कमिटी प्रणालीलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, “यो चुनाव कुनै एक उम्मेदवारको मात्र नभई पार्टी, विचार र सिद्धान्तको चुनाव हो । सबै एकतावद्ध भई जनताको घरदैलोमा पुगेर पार्टीको नीति, विचार र कार्यक्रम स्पष्टरुपमा राख्नुस् । समाजसेवाको भावना लिएर पालिका, वडा र टोलमा पुगेर मतदाता भेटघाट, संवाद र संगठन विस्तारमा लाग्नुस् ।” सबै मिलेर अगाडि बढे विजय निश्चित हुने दावी गर्दै संगठन सुदृढीकरण नै जितको मुख्य आधार भएको उहाँले जिकिर गर्नुभयो ।







