

१३ माघ २०८२, मंगलबार
सुर्खेतः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रमुख रिजालले पछिल्लो समयमा कर्णालीमा सवारी दुर्घटनामा बढ्दै गएकोले त्यसको न्यूनीकरणमा केन्द्रित भएर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सवारी चेकजाँच कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछौं । सरोकारवालाहरुसँगको सहकार्य र समन्वयबाटै यसमा सकरात्मक नतिजा आउने अपेक्षा छ ।”
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन ट्राफिक प्रहरीले सक्रिय भूमिका खेल्ने प्रमुख रिजालले बताउनुभयो । सडक दुर्घटना बढेर जनधनको क्षति हुने समस्या आउन नदिने योजनाका साथ अगाडि बढ्ने धारणा राख्दै उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरण प्रहरीको एक्लो प्रयासले सम्भव छैन । सबै सरोकारवाला निकायको सहयोग आवश्यक हुन्छ ।”
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले सवारी चालकहरुमा ट्राफिक सचेतनाको कमी र नियम पालनामा कमजोरी मुख्य चुनौती रहेको बताउनुभयो । ट्राफिक सचेतना कार्यक्रमलाई समुदायस्तरमा अझ प्रभावकारी बनाउन सकेमात्र सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।





