

७ माघ २०८२, बुधबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेश सरकारअन्तगत मन्त्रालयहरुको आजदेखि सुरु भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रोमा बाहाना चाहिएको छ । निर्वाचनको बाहाना बनाएर विकासका काम रोकिनु हुदैन र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य हुँदैन ।”
उहाँले मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण भएपनि तालिका अनुसार काम नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रर्दशन गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उहाँले प्रष्ट्याउनुभयो । स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने भएकोले विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । समयमै खर्च र लक्ष्यअनुसार प्रगति हाँसिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उहाँको भनाई थियो । जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तरगतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।






