OnlinePana

आज : २०८२ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २, २०८२
१५ पटक

१ माघ २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जैविक विविधता संरक्षणबाट मात्र मानव अस्तित्व रक्षा हुने बताउनुभएको छ ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लिबर्ड सहितको समन्वयमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो प्रादेशिक मह महोत्सव’ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले पछिल्लो समयमा मानव गतिविधिका कारण जैविक विविधता नास हुँदै गइरहेको बताउनुभयो ।

“कर्णाली प्रदेश सरकारका कृषि विकास रणनीति बनाएर पर्यावरणीय कृषि प्रणालीमा जोड दिएको छ,” उहाँले भन्नुभयो, “यसले पनि जैविक विविधता संरक्षणमा सहयोग पुगेको छ ।” त्यसैगरी जैविक विविधता कायममा मौरीको महत्वपूर्ण भूमिका भएको बताउँदै मन्त्री शाहले प्रकृति जोगाउन मौरी संरक्षण पनि त्यतिकै अपरिहार्य रहेको बताउनुभयो ।

सरकार ज्ञान, प्रविधि र बजार दिन तयार रहेको भन्दै उहाँले हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्याएर अर्थोपार्जनका लागि आफ्नो लगानी गर्न मौरीपालक व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । मानवीय असंवेदनशील गतिविधिका कारण जैविक विविधतामाथि भएको प्रहार रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)का कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले कृषि जैविक विविधता केवल बालीका जात मात्र नभई यो स्थानीय बाली, पशुधन, मौरी तथा अन्य परागसेचक, माटोका सूक्ष्म जीव, परम्परागत ज्ञान र किसानको सीपको समष्टिगत रुप भएको बताउनुभयो ।

कर्णालीको कृषि मन्त्रालय र लिबर्डको संयुक्त पहलमा कर्णाली परागसेचक रणनीति (२०८२–२०९२) नीति बनाइ परागसेचन सेवालाई कृषि प्रणालीको अनिवार्य अंगका रुपमा स्थापित गरिएको बताउनुभयो । परागसेचकमैत्री अभ्यास, अनुसन्धान, शिक्षा र संस्थागत संयन्त्रलाई सुदृढ गर्ने लक्ष्य लिएकोले यसले जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।

नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश अध्यक्ष लिलाराम ढकालले जैविक विविधताको संरक्षणबाट मौरी जगेर्ना गर्न सकिने बताउनुभयो । मौरीपालक किसानहरुलाई प्रोत्साहित, व्यवसाय प्रवद्र्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले ‘दोस्रो प्रादेशिक मह महोत्सव’ गरिएको उहाँको भनाई थियो ।

उहाँका अनुसार महोत्सवमा ३० मह र २० जैविक विविधतासँग सम्बन्धित अन्नबाली, वास्तु सामग्री र खाद्य परिकारका स्टलहरु राखिएका छन् । ‘दोस्रो प्रादेशिक मह महोत्सव’ यही माघ १–३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्