OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २९, २०८२
१६८ पटक

 

२९ पुस २०८२, मंगलबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न अनुरोध गर्नुभएको छ ।

खेलकुदमन्त्री गुप्तासहितको प्रतिनिधि मण्डलसँग आज सुर्खेत वीरेन्द्रनगरस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै संघीय सरकारले आफनो तर्फबाट तयारी गर्न सुझाव सुझाउनुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउनसमेत पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा उहाँले संघीय सरकारले पटक पटक मिति तोकेपनि अहिलेसम्म प्रतियोगिताको पूर्वतयारी नगरेकोमा असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरु खेलकुद खेलाउने गरी आउनुस्, हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ तर पटक पटक मिति तोकेर नागरिकलाई भुक्याउने काम नगर्नुस् । अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहनेछ । अब एक महिनामा कसरी खेल खेलाउने गरी तयारी गर्नुहुन्छ ।”

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेको भन्दै फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत मन्त्री गुप्तालाई गर्नुभयो । उहाँले कर्णालीमा खेल उद्घाटन गरेर अन्तै खेलाउने काम गरेमा प्रदेश सरकारले स्वीकार नगर्ने जिकिर गर्नुभयो । पटक पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोड्ने कामले जनतालाई ढाट्ने काम भइरहेको उहाँको भनाई थियो ।

युवा तथा खेलकुदमन्त्री गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक तयारी भइरहेको बताउँदै प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौं । खेल सम्पन्न गर्न प्रदेश सरकारको विशेष भूमिका चाहिन्छ ।” उक्त छलफलमा वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्