OnlinePana

आज : २०८२ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २७, २०८२
१३ पटक

२७ पुस २०८२, आईतबार

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको खेल इतिहासमा काक्रेविहार क्लबले नयाँ अध्याय सुरु गरेको बताउनुभएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही पौष ३० गतेदेखि काठमाडौंमा सञ्चालन हुने राष्ट्रिय लिग फुटबल प्रतियोगितामा कर्णालीबाट पहिलो पटक छनोट भएको काँक्रेविहार क्लब सुर्खेतप्रति खुसी व्यक्त गर्नुभयो । उक्त क्लबका खेलाडी तथा अफिसियल्सहरुलाई आज वीरेन्द्रनगरबाट विदाई गर्दै उहाँले पश्चिम नेपालबाट पहिलो पटक ए डिभिजनस्तरको राष्ट्रिय लिगमा काक्रेविहार क्लबले सहभागिता जनाउनु गर्वको कुरा भएको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको नेतृत्व यही टिमले गर्ने विश्वास गरेका छौं । कर्णालीका खेलाडी सक्षम छन । अवसर र निरन्तर लगानी पाए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने गतिलो उदाहरण काँक्रेविहार क्लब बनेको छ ।”

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले काँक्रेविहार क्लबको सफलताले कर्णालीका युवामा गरे सकिदो रहेछ भन्ने आत्मविश्वास बढाएको बताउनुभयो । उहाँले नगरपालिकाले सम्भव भएसम्म खेलकुद पूर्वाधार विकास, प्रशिक्षण तथा प्रतिभा पहिचानमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसहित एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोलीसहित कुल १७ टोली सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा पौष ३० काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फाका अनुसार सिंगल राउण्ड रोविन प्रणालीमा खेलाइने प्रतियोगितामा कुल एक सय ३६ खेल सञ्चालन हुनेछन् । प्रतियोगिताका खेलहरु दशरथ रंगशाला, च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छ । प्रतियोगिताको विजेताले नगद रु.५० लाख पुरस्कार पाउने व्यवस्था समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्