OnlinePana

आज : २०८२ पौष ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ९, २०८२
१४ पटक

९ पुस २०८२, बुधबार

सुर्खेतः गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य कार्यभार स्वच्छ र मर्यादित निर्वाचत भएको बताउनुभएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा संयुक्त आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री आर्यालले निर्धारित मिति फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो मूल रणनीति कुनैपनि अवस्थामा द्वन्द्व नदोहोरिन दिन हो । मुलुकको संकटपूर्ण अवस्थालाई सामान्यीकरण बनाउन शान्तिपूर्ण राजनीति वातावरणमा स्वच्छ र निर्भयपूर्ण प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिरहेका छौं । संसद विगठन भएको ६ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकोले सुरक्षा चुनौतिलाई सुदृढ गर्दै फागुन २१ गते चुनाव सम्पन्न गर्छौं । मौसमी बाधा व्यवधान भएपनि फागुन २१ गतेकै चुनाव मानेर चुनाव सम्पन्न गरिने उहाँको भनाई थियो ।

जेनजीका जनआन्दोलनका सहिद पहिचान गरी उनीहरुको नामावली राजपत्रमा प्रकाशन गरेको र परिवारलाई राहत प्रदानमा जोड दिएको बताउनुभएका गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायमका लागि जेनजी पुस्तालाई राजनीति मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार जेनजी पुस्ता दल विशेषको नभई सबैका साझा जनशक्ति भएकोले उनीहरुको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकसामै उपयोग गर्नुपर्दछ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शान्ति सुरक्षाको व्यहारिक संलग्नतामा अहिलेसम्म प्रदेश सरकार रहन नसकेको बताउनुभयो । “सुरक्षा निर्देशन दिन संघीय सरकारबाट आदेश लिनुपर्ने अवस्थाले पनि शान्ति सुरक्षामा प्रदेश सरकारको सक्रिय संलग्नता छैन,” उहाँले भन्नुभयो, “यसले गर्दा पछिल्लो समयमा शान्ति सुरक्षाको अवस्था निष्प्रभावित छ । कर्णालीमा सुरक्षा जनशक्ति पनि दरबन्दी अनुसार छैन ।”

नेपालको संविधान अहिले पनि अर्धमुर्छित अवस्थामा रहेको बताउँदै मुख्यमन्त्री कँडेलले जेनजी आन्दोलनबाट भव्य तव्यमा निर्माण भएको सरकारसँग धेरै आशा गर्न नसकिने टिप्पणी गर्नुभयो । उहाँले दशै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई प्रशासक मात्र नभई सुशासनको पहरेदारका रुपमा काम गर्न निर्देशन दिनुभयो ।

आसन्न फागुन २१ गतेको निर्वाचनको मिति र कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संभव नभएको उहाँले भनाई थियो । कर्णालीमा मनपरी भाडा असुली, असुरक्षित यात्रा, लागु पदार्थको प्रभाव र पछिल्लो समयमा दुव्र्यसनीको केन्द्रका रुपमा विकास भइरहेको अवस्थालाई गम्भीरताका साथ लिन उहाँले संघीय सरकारलाई सुझाउनुभयो ।

गृह सचिव रामेश्वर दंगालले गोष्ठीमा समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्था, चुनौति र समाधानका लागि अवलम्बन गरिएका उपाय व्यवस्थापनका बारेमा प्रस्तुति रहने बताउनुभयो । उहाँका अनुसार दशै जिल्लाबाट सुरक्षा अवस्थाको चुनौति र सुदृढीकरणको सुरक्षा रणनीति योजनाबारे प्रस्तुति रहनेछ ।

उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभाग नेपालका निर्देशक टेकेन्द्र कार्की, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, दशै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्