

८ पुस २०८२, मंगलबार
सुर्खेतः नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुग्नु भएको छ ।
भोलि कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर सुर्खेतमा हुन गइरहेको कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न मन्त्री अर्याल सुर्खेत आइपुग्नु भएको हो । सुर्खेत पुग्नुभएका उहाँले भेरीगंगा नगरपालिका ८ सुर्खेत चिप्लेस्थित निर्माणाधिन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको अनुगमन गर्नु भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार मन्त्री अर्यालले जिल्ला प्रशासन र सुरक्षा निकायको अनुगमन तथा निरीक्षण पश्चात आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । मन्त्री अर्यालसँगै गृह सचिव रामेश्वर दंगालसहितको १३ सदस्यीय टोली रहेको छ ।
जिल्ला प्रशासनका कार्यालय सुर्खेतका अनुसार बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल गरिनेछ । उक्त बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलगायतका सुरक्षा अधिकारीको सहभागिता हुने जनाईएको छ ।








