OnlinePana

आज : २०८२ मंसिर ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ६, २०८२
११ पटक

५ मंसिर २०८२, शुक्रबार

सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशअन्तरगत भेरी करिडोरमा रहेका हुलाकहरुको अवस्थाको स्थलगत अनुगमन गरेको छ ।

हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डे नेतृत्वको टोलीले भेरी करिडोरमा रहेका जाजरकोट, डोल्पा, रुकुमपश्चिम तथा सल्यान जिल्ला हुलाक कार्यालय र ती जिल्लास्थित स्थानीय तहमा रहेका हुलाक कार्यालयहरुको अनुगमन तथा निरीक्षण गरेको हो । हुलाक सेवालाई छिटो छरितो, भरपर्दो र व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाह गर्ने ध्येयले अनुगमन तथा निरीक्षण गरिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

जाजरकोट जिल्ला हुलाक कार्यालय र अन्तरगतका स्थानीय हुलाक नलगाड नगपालिका, दल्ली र सटही काउन्टर शिवालय गाउँपालिका छेडागाडको स्थलगत अनुगमन गरिएको उहाँले बताउनुभयो । यसैक्रममा भूकम्पबाट क्षति भइ पुनःनिर्माणको क्रममा रहेको जिल्ला हुलाक कार्यालय जाजरकोटको कार्यालय भवनको अनुगमनसहित त्यहाँस्थित विभिन्न पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको उहाँको भनाई थियो ।

उहाँका अनुसार डोल्पास्थित हुलाकहरुको अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय डोल्पा र स्थानीय हुलाक कार्यालय त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला हुलाक कार्यालय रुकुमपश्चिम, स्थानीय हुलाक कार्यालय आठबीसकोट नगरपालिका राडीज्युला, सानीभेरी गाउँपालिका सिम्ली, हुलाक कार्यालय चौरजहारी नगरपालिकाको सेवा प्रवाह, कार्यालयको भौतिक संरचना डाँकरेखा र जनशक्तिको अवस्थाका बारेमा स्थलगत अनुगमन तथा छलफल गरिएको थियो ।

त्यस्तै, हुलाक कार्यालय सल्यानसहित हुलाक कार्यालय वनगाड कुभिण्डे नगरपालिका देवस्थल (सल्लीबजार), हुलाक कार्यालय कुमाख गाउँपालिका राँगेचौर, हुलाक कार्यालय सिद्धकुमाख गाउँपालिका ढौरचौर, हुलाक कार्यालय बागचौर नगरपालिकाको निरीक्षण गरी जिल्ला हुलाक कार्यालय रुकुमपूर्व रुकुमकोटमा डाँक आदानप्रदानका विषयमा समन्वय तथा अन्तरक्रियात्मक छलफल गरिएको निर्देशक पाण्डेले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जीवन्त राख्दै विश्वजगत्ले वर्तमान समयमा विकास गरेको सूचना प्रविधिलाई हुलाक सेवामा भित्र्याउन आवश्यक पर्ने पूर्वाधारका बारेमा छलफल तथा अनुभव आदानप्रदान गरेका छौं । यसले देखिएका समस्या समाधान गर्न तथा हुलाक सेवालाई नवीन र प्रविधिमैत्री बनाउन सहयोग पुग्नेछ ।”

सोही क्रममा कार्यालयहरुको जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधनको अवस्था, भवनको अवस्था, सेवा प्रवाह, जनगुनासो, डाँक ढुवानी, सरकारी तथा गैरसरकारी निकायहरुसँगको समन्वयका विषयमा अनुगमन चेकजाँच तथा अन्तरक्रिया गरी टोलीले सम्बन्धित कार्यालयहरुलाई हुलाक सेवा विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । हुलाकप्रतिको जनविश्वास कायम राख्न, नागरिकसँग नजिक हुन तथा डाँक ढुवानी कार्यलाई व्यवस्थित गर्न सुझाव दिइएको निर्देशक पाण्डेले बताउनुभयो ।

त्यसैगरी जिल्ला तथा स्थानीय हुलाक कार्यालयहरुलाई सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी हाल हुलाकले प्रदान गर्ने सेवाका बारेमा प्रचारप्रसार गरी व्यापक मात्रामा जनचेतना विस्तार गर्न निर्देशन दिईएको छ । साताव्यापी अनुगमन टोलीमा निर्देशक पाण्डेसहित अनुगमन शाखाका प्रमुख नारायणप्रसाद तिमिल्सेनालगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्