OnlinePana

आज : २०८२ मंसिर २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १, २०८२
९ पटक

३० कात्तिक २०८२, आईतबार

सुर्खेतः कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे छलफल भएको छ ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालाहरुबीच छलफल भएको हो । यही कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बसेको बैठकमा बोल्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताउनुभयो ।

सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आँकलन गर्दा विषेशज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गाउँ गाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति करारकालाई स्थानीय तहसम्म परिचालन गरेपनि मेडिकल अधिकृत भन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल भएको छ ।”

उहाँका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनहरुमा बजेट स्रोत घटिरहेको छ । अस्पताल व्यवस्थापन समितिहरुको कोष व्यवस्थित भइरहेको छ । बरु यसलाई थप व्यवस्थित र एकीकृत बनाउन मन्त्रालयले अस्पताल आर्थिक प्रशासन नियमावली निर्माण गरी नमुना कानुन पठाउन लागेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएकोले त्यसप्रति आत्मआलोचना भइरहेको बताउनुभयो । प्रदेश सरकारको स्वीकृत १५० शैय्या भएपनि हाल तीन सय शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको भन्दै उहाँले विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरेतापनि उक्त जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उहाँको भनाई थियो ।

प्रदेश अस्पतालका निर्देशक डा.गणेश थापाले विशेषज्ञ चिकित्सको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको बताउनुभयो । दरबन्दी अनुसार जनशक्ति नहुँदा सेवा प्रवाह र परिचालनको कठिनाई भइरहेको बताउँदै उहाँले चार÷पाँच हजार केभिए विद्युत आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकता अनुसार विद्युत आपूर्ति हुन नसकेको जनाउनुभयो ।

समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषय, प्रदान गरिएका सेवाको गुणस्तर, उपलब्धंता र बिरामीमैत्री प्रणाली, अस्पतालको आम्दानी, खर्च तथा वित्तीय व्यवस्थापनको पारदर्शिताका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

त्यसैगरी, स्वास्थ्य बीमाका नागरिकहरुलाई प्रदान गरिने सेवाको अवस्था तथा त्यसमा सुधारका प्रयास, अस्पताल व्यवस्थापन समिति कार्यसम्पादन, निर्णय प्रक्रिया, सार्वजनिक जवाफदेहिता, स्वास्थ्य सेवालाई उपयोगी र भरपर्दो बनाउन भएका कार्य र सो वापत हाँसिल भएका उपलब्धि र तिनको अभिलेखिकरण भए÷नभएको विषयमा छलफल भएको बारेमा सभापति खत्रीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्