OnlinePana

आज : २०८२ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २७, २०८२
९ पटक

२६ कात्तिक २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतको आयोजनामा बुधबारदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रम’को आज समापनमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माण तथा सेवा प्रवाहमा तीनै तहका सरकारहरुको सहकार्य र समन्वयको अभावले नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभयो ।

दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, “भूगोल सबैको एउटै हो । त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुन सकेमात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् । अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तह बीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्छ ।”

आन्दोलनपछि बनेको गैर दलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहार गरेपनि सातै प्रदेशका मुख्यमन्त्रीहरुको गुनासोपछि अहिले केही सुधारहरु भएको तथापि त्यसैमा ढुक्क हुने अवस्था नरहेको उहाँको भनाई थियो । दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थन पाउनेगरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

“दर्शकको ठाउँमा बसेका जनतालाई अब राम्रो काम गरेर स्वतन्त्र रुपमा आफ्नो रक्षक बनाउने योजना तथा कार्यक्रममा ध्यान केन्द्रित गर्न जरुरी छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “जनताको विश्वास जित्ने गरी काम गर्न सकेमात्र राजनीति बलियो हुन्छ । हामी आफ्नो आम्दानी बढाउने गरी हाम्रो गच्छे अनुसारको सरकार चलाउने व्यवस्थामा छौं,”

प्रदेश र स्थानीय दुवै सरकारको विकास र जनसेवा गर्ने उद्देश्य भएकोले प्रतिस्पर्धा होइन नभई सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कँडेलको भनाई थियो । दुई दिने अन्तरक्रियामा दश जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख÷उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहित कर्णाली सरकारका प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्