OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २२, २०८२
२६१ पटक

२२ असोज २०८२, बुधबार

सुर्खेतः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश सुर्खेतले रु.एक करोड बढी सुपथ मूल्यको खाद्य बिक्री गरेको छ ।

भदौ ३० गतेबार बिक्री कार्य सुरु गरेको व्यापार कम्पनीले दुई सातामा रु.एक करोड १३ लाख पाँच हजार सात सय ९१ मूल्य बराबरको कारोवार गरेको हो । यस अघि हरेक दिन करिब रु.एक लाख बिक्री गर्दा अहिले दैनिक रु.१५ लाख बराबर खाद्य बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार दशै तथा तिहारलाई लक्षित गरेर सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेपछि दश गुणाले कारोवार बढेको हो ।

प्रादेशिक प्रमुख बुढाले भन्नुभयो, “दशै तथा तिहारका लागि रु.१५ हजार चार सय क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ । आईरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरीडक्सिनलगायत पौष्टिक तत्वयुक्त सुदृढ चामलमा पछिल्लो समयमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।”

सरकारले कर्णालीका नागरिकहरुको कुपोषण घटाउने उद्देश्यका साथ फोर्टिफाईड (सुदृढ) चामल वितरणमा जोड दिएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि सरकारले कर्णालीका नौ जिल्लामा पुग्ने गरी एक लाख क्वीन्टल खाद्य अनुदान कोटा छुट्याएकोे उहाँले बताउनुभयो ।

व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीले भदौ ३० गते यता आठ सय ३५ क्विन्टल चामल, एक सय ३१ दशमलव ११ क्विन्टल चिनी र अठार हजार छ सय ६० लिटर तेल बिक्री वितरण भएको बताउनुभयो । नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कार्तिक १० गतेसम्मका लागि प्रवाह गरिनेछ ।

 

प्रतिकृया दिनुहोस्