OnlinePana

आज : २०८२ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ८, २०८२
१०५ पटक

८ असोज २०८२, बुधबार

सुर्खेतः विभिन्न आन्दोलन तथा विद्रोहमा पटक पटक आक्रमण व्यहोरिरहेको नेपाली काँग्रेसका उपसभापति तथा पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काको परिवार दुई साता अघि भएको जेनजी पुस्ताको आन्दोलनको आक्रमणबाट पनि अछुतो रहेन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट खड्का दाजुभाईको करोडौंको क्षति भएको छ ।

विसं.२०७२ सालमा सात प्रदेशको सीमाङ्कनको विरोधमा भएको आन्दोलनमा पनि उपसभापति खड्काको घर आन्दोलनकारीको निशानामा परेको थियो । त्यसपछिका पट्के आन्दोलनमा जोगिएको उहाँको घर जेनजी पुस्ताको आन्दोलनमा प्रदर्शनकारीहरुले आगजनी गरेपछि अहिले उक्त घर पूर्णरुपले खण्डहर बनेको छ । जलेर पूर्णरुपले ध्वस्त बनेको घर उपसभापति खड्का र उहाँका साईला भाई विष्णुबहादुर खड्काको संयुक्त सम्पति हो ।

त्यतिमात्र होइन, उपसभापति खड्काका माईला भाई तथा कर्णाली प्रदेश अस्पतालका पूर्व निर्देशक प्राडा.डम्बर खड्काको घरमा समेत आगजनी गर्दा घरसहित दुईवटा गाडी, करिब ५० तोला सुनसमेत पुरै नष्ट भएको छ । बस्ने बास नै खरानी भएपछि अहिले सडकबासको जीवन जिउनु परेको दुखेसो उहाँले गर्नुभयो ।

आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा पीडा पोख्दै प्राडा.खड्काले भन्नुभयो, “मैले भ्रष्टाचार गरेर निर्माण गरेको घर होइन । यो त मेरो ४१ वर्षको जागीरे र व्यवसायिक जीवनको मात्र नभई मेरो श्रीमतीको पनि कमाई हो । करिब आधा शताब्दी जागीर खाएको मान्छेले यस्तो घर बनाउन सक्दैन ? मेरो घर हेरेर भ्रष्टाचार गरेको भन्नेहरुलाई प्रमाणसहित आउन चुनौति दिन्छु ।”

श्रीमतीको मृत्युपछिको पीडाले नछोड्दै जेनजी आन्दोलनका नाममा केही झुण्डहरुले आफ्नो घर जलाएर खण्डहरु बनाएपनि उनीहरुलाई जीवनभर आत्मग्लानी भईरहने उहाँको जिकिर थियो । प्रगति भएको हेर्न नचाहनेहरुले पीडामाथि पीडा थपेको भन्दै यो समाजको मान्छेहरुले सेवा दिँदा सक्याउन र योगदानको मूल्य नबुझेर सँधै प्रहार गररहेको उहाँको भनाई थियो ।

सुरक्षाकर्मी वा राज्यले संग्राहलय बनाउने प्रस्ताव गरे खण्डहर घर हस्तान्तरण गरिदिने वचन दिँदै उहाँले भन्नुभयो, “केही राजनीतिक नेताहरुले नराम्रो पनि गर्नुभएको छ । तीसहित सबै नेताको सम्पति छानबीन गरियोस् र हामीमाथि पनि छानबीन होस् । दाईको आशीर्वादबाट भाइ विष्णुले व्यवसाय सुरु गरेको होइन । कर्णाली भरिका जगल्टे, जो मोबाईलमा झुम्मिरहन्थ्यो ती बेकामेहरुले आज यो अवस्थामा पुर्याए ।”

स्वास्थ्य मन्त्रालयले उत्कृष्ट डाक्टर आवार्ड दियो । मैले नेपालको नम्बर १ कर्णाली प्रदेश अस्पताल बनाए । कर्णालीबासीको साझा स्वार्थका निम्ति अहोरात्र खटेर शिक्षा स्वास्थ्यमा लगानी गरियो तरपनि हामीमाथि बेला बेलामा आक्रमण भइरह्यो । हाम्रो घरमा आगजनी गर्ने, गहगहना, धनमाल लुटपाट, चोरीमा संलग्नलाइ ग्लानी हुनेछ । उनीहरु मानसिक रोगी बन्नेछन् ।

खण्डहर घर बाँकी रहेको जग्गा जमीन बेचेर पनि पुनःनिर्माण गर्ने र यसमा कदापि आत्मबल नघटाउने भन्दै उहाँले आफ्नै मातृभूमिमा बसेर स्वास्थ्य सेवा गर्ने दृढता प्रकट गर्नुभयो । “यसरी सम्पति जलिरहँदा नेपाली सेना, प्रहरी प्रशासन मुकदर्शक भएर बस्नु जत्तिको अरु निरीहपन के हुन सक्छ ?” प्रश्न गर्दै डा.खड्काले भन्नुभयो, “सिंहदरबार, सर्वोच्च अदालतजस्ता हाम्रा ऐतिहासिक राष्ट्रिय सम्पदा जलिरहँदा हेरिरहने सुरक्षाकर्मीहरुबाट अब हामी के आशा गर्न सक्छौं ।”

यता खड्काका भाई विष्णुबहादुर खड्काले सबै पार्टीका मान्छेहरुको सहभागितामा षड्यन्त्रमूलक तरिकाले घर आगजनी गरिएको बताउनुभयो । कर्णाली प्रदेश आन्दोलन होस् र जेनजी आन्दोलन, खड्का परिवारको घर निशानामा पारिनुले हाम्रो योगदानमाथि अपमान भइरहेको छ । उहाँले भन्नुभयो, हामीले कसैको लुटेका छैन । पुख्र्यौली सम्पति थियो । त्यसैबाट सबै आ–आफ्नो पेशा व्यवसायमा लागेर यो ठाउँमा आएका हौं ।

पूर्णबहादुर खड्काले घुस खाएको तथ्य र प्रमाणसहित आओस् दाइ मात्र नभएर हामी सबै सजायभागी हुन तयार छौं । दाईले राजनीति गर्दा भाईले व्यवसाय गर्न नपाउने यो कहाँको नियम हो ? मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश अस्पताल, मध्यपश्चिम यातायात व्यवसायी समिति, माया नर्सिङ होम, माया पेट्रोल पम्पबाट यहाँका नागरिकहरुलाई सेवा प्रवाह गर्दा आज विस्थापित हुनुपर्ने अवस्था आईलागेको उहाँले दुखेसो व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्