OnlinePana

आज : २०८२ साउन ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३, २०८२
११ पटक

१ साउन २०८२, शुक्रबार

नेपाल काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता बचाउनु तीन मुख्य दलहरुको साझा दायित्व भएको बताउनुभएको छ ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा आज सुर्खेतको लेकबेसी तथा भेरीगङ्गा नगरपालिकामा आयोजित ‘जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण कार्यक्रम’मा मन्तव्य व्यक्त गर्दै उपसभापति खड्काले संविधान र संघीयता रक्षा तथा यसको संस्थागत विकास गर्ने जिम्मेवारी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को काँधमा रहेको बताउनुभयो ।

“मुलुकको परिवर्तनका लागि त्याग र बलिदान गर्ने दलहरुका विरुद्ध अफवाह फैलाएर जनतामा निराशा छर्न थालिएको छ,” उहाँले भन्नुभयो, “यसमा काँग्रेस, एमाले र माओवादी तीनै दल गम्भीर बन्नुपर्दछ ।” जनताका कुँडिएका मनहरुमा मलम लगाउनुभएको उपसभापति खड्काले पार्टी, नेता तथा कार्यकर्ताहरुले गरेका गलत सुधार्दै जनतासँग क्षमा मागेर अगाडि बढ्न सकेमात्र उनीहरुमा देखिएको निराशा र असन्तुष्टि घट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान उपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले आजै पूर्वी सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको छ । उहाँले लेकबेसी नगरपालिकाका २१ जना र भेरीगंगा नगरपालिकाका दुई सय पाँच गरी दुई सय २६ जना भूमिहीनहरुलाई जग्गाधनी पूर्जा हस्तान्त्ररण गर्नुभयो ।

पूर्जा वितरण गर्दै उपसभापति खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पूर्जा पाउनु खुसीको कुरा भएको बताउनुभयो । नागरिक भएपनि पनि करिब पाँच दशक लामो समयसम्म भूमिहीन् सुकुम्बासी भएर बस्नु बिडम्बना भएको जनाउँदै उहाँले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रीत गरेको बताउनुभयो ।

भूमि सम्बन्धी समस्याको समाधान गर्न चाँडै भूमि विधेयक पारित गर्नेगरी छलफल चलिरहको भन्दै उहाँले भूमिको अधिकतम उपयोगका साथै व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि र कर्मचारीहरुसँग जनताको असन्तुष्टि रहेको बेलैमा सच्चिनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “जिम्मेवारीमा रहेकाहरु लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामुहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरेमात्र सबै कुरामा सुधार आउँछ । राजनीतिक दलहरुका लागि अहिले चुनौति यही नै हो ।”

उहाँले आफू उपप्रधानमन्त्री हुँदका बखत दुई सय प्रतिशत रहेको राजश्वलाई घटाएर १० प्रतिशतमा झारेको जिकिर गर्नुभयो । मतदाताहरुबाट राजश्व धेरै भयो भन्ने गुनासो आएकोले जग्गाको मूल्य बढ्दा राजश्व बढेको हो भन्ने कुरा उनीहरुलाई बुझाउनुपर्ने सुझाव उपसभापति खड्काले दिनुभयो । राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम अन्त्य गर्नुपर्ने भन्दै उहाँले केन्द्रदेखि टोलसम्मका जनप्रतिनिधिले मतदाता किन असन्तुष्ट छन् भन्ने कुरा ख्याल गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्