

रतन वड/सिंजा जुम्ला,
असार ३ गते । जिल्लाको सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा भएका छन् ।
सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकैदिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । सिंजा गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार पोषणका आधारभुत सूचक अनुसार काम भएपछि पोषणमैत्री संस्था घोषणा भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सिंजा गाउँपालिका वडानम्बर ३ को नराकोट स्वास्थ्यचौकी, वडा नम्बर १ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाउँ स्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका हुन । यसैगरी आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर २ को बिष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभुत स्वास्थ्य केन्द वडा नम्बर ६ को दातमा समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका हुन् ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, साझेदार निकाय विभिन्न स्वास्थ्य चौकीमा सहभागि भई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन् । स्वास्थ्य संयोजक रोकायाले आधारभुत पोषणका सूचकहरुमा मिहिनेतका साथ काम भएको छ । सवै संस्था घोषणा भएपछि ९ गते सिंजा गाउँपालिका नै पोषणमैत्री गाउँपालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला समेत गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समय देखी स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन् ।
शनिगाउँ स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले मानिसको पोषण मानव जीवन सँग जोडिएको महत्वपूर्ण बिषय भएकाले गाउँपालिकाले पोषणमैत्री गाउँपालिकामा जोड दिएको बताउदै यस अभियानमा लाग्ने सवै स्वास्थ्यकर्मी र साझेदार निकायलाई विशेष धन्यवाद दिनुभयो ।
स्वास्थ्यचौकीहरुका अनुसार गर्भवति महिलाले विभिन्न समयमा जाँच गर्ने, आईरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान शुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित बृद्धि अनुगमन लगायतका विभिन्न सूचक पुरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका छन् । सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका हो ।