OnlinePana

आज : २०८२ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २, २०८२
९ पटक

१ असार २०८२, आईतबार

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको बताउनुभयो । त्यतिमात्र नभएर मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र भन्दा अन्य जिल्लाको योजनासमेत आफैले पेश गरेको पाइएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको छ । आयोजना बैंकका नाममा ल्याएको यो बजेट अपारदर्शी मात्र छैन, आयोजना बैंकमा त्यसमा के–कस्ता योजना छन् भन्नेबारे समेत थाहा छैन ।” प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याईएको बजेटले ‘अवैध र चोर बाटो’ अंगालेको मात्र नभई आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गर्ने गरेको उहाँको आरोप छ ।

उहाँका अनुसार जिल्लास्तरीय समितिले सिफारिस गरेका र मन्त्रालयसम्म पुगेका योजनासमेत सरकारले वेवास्ता गरिएको छ । सभामा यसबारे कुरा उठ्दा योजनाहरु प्रक्रियामा सामेल गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएपनि पछि त्यसमाथि प्रतिबन्ध लगाएको छ । प्रतिपक्षी दलले आयोजना बैंक सार्वजनिक गर्न भनेको कुरालाई सरकारले नटेरे विवादित पृष्ठभूमिमा तयार भएको बजेट सभामा पेश गर्ने नदिने प्रमुख सचेतक जिसीले चेतावनी दिनुभयो ।

कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसेपनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफल भएर निकास निस्केला र यसका लागि केही समय लाग्दा । विवाद समाधान नहुँदा बैठक भने अनिश्चित जस्तै बनेको छ ।

 

प्रतिकृया दिनुहोस्