

२५ जेठ २०८२, आईतबार
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्य सचिव विश्वामित्र सञ्ज्याललाई दिन नसक्नु प्रदेश सरकारको कमजोरी भएको बताउनुभएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आईतबार बसेको बाह्रौं बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले परिषद् सदस्य सचिव सञ्ज्यालको कार्यकाललाई निरन्तरता दिन नसक्नु मुख्यमन्त्री र विभागीय मन्त्रीको कमजोरी भएको औंल्याउनुभयो । नेता शाहीले भन्नुभयो, “मुख्यमन्त्री र विभागीय मन्त्रीज्यूलाई अर्को व्यवस्था नहुन्जेलसम्म काम गरिरहेको सदस्य सचिवलाई नहटाउ, उहाँलाई नै निरन्तरता दिएर नयाँ परम्परा बसालौं भन्ने अनुरोध गरे र अर्को आएपछि हस्तान्तरण गरौंला भनेको थिए । तर भाषण गर्दा अख्तियार र वाइडवडीका कुरा आए ।”
उहाँले अगाडि भन्नुभयो, “मलाई यो भन्नलाई सरम डर छैन । किनकी मैले केही गरेको छैन । अब हामीले कसरी सञ्चालन गर्न सक्छौं । अहिले रंगशालाका सबै कोठमा बन्द भएको, माउ विनाको चल्ला जस्तै रंगशाला भएको छ । सिमलका पात जम्मा भएर स्वीमिङ पुलको रुप अर्कै बनेको छ । रंगशाला व्यवस्थापन गर्न नसक्ने अनि चौरजहारी मा २० करोड राखेर गर्छौ भन्नु कति उपयुक्त हो ? अब यसको वार्षिक खर्च चार देखि पाँच करोड आउँछ । तर जान्ने भने रु.१०–१२ करोड आम्दानी पनि हुन्छ ।”
उहाँका अनुसार अरबको सम्पतिमा हाम्रो सहि निर्णय नहुँदा आज बिग्रिदैछ । राष्ट्रपति रनिङ शिल्ड गर्न नसकेको अवस्था छ । हजार जनता बर्बाद भएर केही हुँदैन । एउटा नेता खराब हुँदा धेरै ठूलो समस्या आउँदो रहेछ । यसमा मुख्यमन्त्री र विभागीय मन्त्रीको ध्यान गएन । सत्ता साझेदार हु भन्दैमा गलत कुरा टुलुटुल हेरेर बस्न सकिदैन ।
मुख्यमन्त्री, कृषिमन्त्री र प्रमुख सचिवज्यूलाई हेक्का नराखेको भन्दै पूर्वमुख्यमन्त्री रहनुभएका दल नेता शाहीले सुशासनलाई संस्थागत गर्न नसकिएको बताउनुभयो । म सुशासनको लडाई लडिरहेको र लडिरहने छु । प्रदेश सरकारले पनि सुशासनको कुरा गरिरहेको तर आठौं तहको कर्मचारीलाई निर्देशक बनाएर नवौंलाई जिल्लाको कार्यालय प्रमुख बनाएर पठाउने ? यो कुरा सहन सकिदैन । सरकारले एकले अर्कोलाई नटेर्ने नीति ल्याउने ?
अहिलेसम्म अर्को सदस्यसचिव नहुँदा र उतिबेला काम गरिरहेको सदस्य सचिवलाई हटाउन हुँदैन भनेको नमान्दा खेरी अहिले प्रदेश सरकारको गौरवको आयोजना रंगशाला अलपत्र अवस्थामा देखिन थालेको उहाँको भनाई थियो । यो दुरावास्था देख्दा आफूलाई दुःख लागेर आएको बताउनुभएका उहाँले मुख्यमन्त्रीले सहि निर्णय नगर्दा आज यो समस्या भोग्नुपरेको दोषारोपण गर्नुभयो ।
सोही क्रममा चुनौति दिँदै उहाले भन्नुभयो, “प्रमुख सचिवको ठाउँमा सहसचिव ल्याएर काम गर्नुस् अब । सुशासनका कुरा गरेर गलत व्यवहार देखाउन हुदैन भनेको हो । तपाईले भनेको मान्छेलाई नेतृत्व लिनुस् तर नीति कार्यान्वयनमा ख्याल गर्नुस् भनेको हो । साझेदार दलको हुँ भनेर सबै मानिदैन । सुशासनको लडाई निरन्तर लड्छु । सहि गर्नुहोला तपाईहरुलाई शुभकामना छ ।”