OnlinePana

आज : २०८२ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १३, २०८२
१७ पटक

१२ जेठ २०८२, सोमबार

कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पर्यटकीय महत्व बोकेको छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको छ ।

वीरेन्द्रनगर नगरपालिका १४ देखि बराहताल गाउँपालिकाको कल्याणकाध जोड्ने सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज मुख्यमन्त्री कँडेलले शिलान्यास गर्नुभएको हो । सडक स्तरोन्नति कार्यको सिलन्यास गर्दै मुख्यमन्त्री कँडेलले विकासका कार्यहरु भईरहँदा कर्मचारी र सरकारको भर नपरी यसमा सबैले साथ सहयोग दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिलान्यास गर्नका लागि आउने भन्दा पनि यो आयोजना निर्माणका विषयमा सबैलाई जानकारी दिनु मुख्य ध्येय हो । समुदायले विकास मेरा लागि हो भन्ने सम्झनुपर्दछ । प्रदेश सरकार यहाँहरुका पूर्वाधारका आवश्यकता परिपूर्ति गर्न निर्वाध अगाडि बढेको छ । विकास जनप्रतिनिधि र कर्मचारीले गर्ने नभई हामी सबैको हो तर भूमिका फरक छ भन्ने बुझिदिन आग्रह गर्दछु ।”

यही वर्ष सडक निर्माण कार्य सम्पन्न नहुने भन्दै उहाँले हरेकको अवस्था बदल्न विकास अपरिहार्य शर्त भएको त्यसमा सबैको साझा सरोकार हुनुपर्ने धारणा राख्नुभयो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकको गढीदेखि कल्याणकाँधसम्म निर्माण हुने सात किलोमिटर सडकले यहाँका स्थानीयहरुको दैनिकीमा सहजता ल्याउने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले करिब रु.आठ करोडमा निर्माण हुने उक्त सडक तीन हजार पाँच सय मिटर पक्की र त्यही दूरीमा ग्राभेल सडक निर्माण हुने जानकारी दिनुभयो । उहाँका अनुसार यही बैशाख २२ गते सम्झौता भएर उक्त सडक निर्माणको जिम्मा बि.आई.एस. कन्स्ट्रक्सन प्रा.लि. काभ्रेपलाञ्चोकले लिएको छ । सडक निर्माणको अवधि विसं.२०८३ असार मसान्तसम्म रहेको निर्देशक शाहीले बताउनुभयो ।

प्रालिका प्रतिनिधि अमृत गौतमले कम्पनीले भोलिदेखि कायसम्पादनमा तीव्रता ल्याउने बताउनुभयो । स्थानीयस्तरबाट आउने बाधा अवरोध नआएमा तोकिएको अवधिमा आयोजना सम्पन्न हुने उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्