जेठ ११, २०८२

९ पटक
९ जेठ २०८२, शुक्रबार
तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला क्षेत्रमा पर्ने घुगाने पाटनमा चट्याङ लागेर कल्पना सिंह शाहीको मृत्यु भएको छ ।
यार्सागुम्बा (जीवनबुटी) टिप्न पाटन क्षेत्रमा गएकी शाहीको बिहीबार दिउसो करिब ४ः०० बजेतिर चट्याङ लागेर मृत्यु भएको उनका श्रीमान् प्रकाश शाहीले जानकारी दिनुभयो । मृतक कल्पनाका घरमा दुई छोरा छन् । तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँ निवासी २७ वर्षीय शाहीलगायत दर्जनौं उक्त पाटनमा यार्सागुम्बा टिप्न गएका थिए ।
चट्याङ् लागेर मृत्यु भएपछि स्थानीयले जानकारी दिएका थिए । यद्यपि पाटन टाढा भएकोले बिहीबार शव परीक्षण गर्न नसकिने भएकोले पाटनबाट शव परीक्षणका लागि आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको स्थानीय लोकबहादुर शाहीले जानकारी दिनुभयो । शव परीक्षणपछि दाहसंस्कार गरिने जनाइएको छ ।