OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ५, २०८२
२३ पटक

५ बैशाख २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको प्रष्ट पार्नुभयो । युवा तथा खेलकुद मन्त्रालयले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने मिति तय भएको थियो ।

उहाँका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई सुझाव दिइएको छ । प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको बताउँदै मुख्यमन्त्री कँडेलले पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भएपनि देखिने गरी काम नभएको असन्तुष्टि व्यक्त गर्नुभयो ।

“खेलकुद प्रतियोगिता कर्णालीमा हुने भएपनि त्यसको मुख्य आयोजक संघीय सरकार हो,” उहाँले भन्नुभयो, “बिगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा निर्माणमा करोडौ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपथ्र्यो तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।” मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक केन्द्र भएपनि कर्णालीको भविष्यसँग जोडिएकोले यो सम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट कुनै कमि नहुने गरी पुरै सहयोग र सहकार्य हुने जनाउनुभयो ।

एक अर्को प्रसङगमा मुख्यमन्त्री कँडेलले प्रदेश रंगशालाको काम सकेर हस्तान्तरण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने तर रंगशाला अहिलेसम्म प्रदेश सरकारलाई हस्तान्तरण नभएको जनाउनुभयो । काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार रहेको र त्यसमा प्रदेश सरकारलाई कुनै समस्या नहुने उहाँको भनाई थियो । उहाँले निर्माण व्यवसायीले काम सकेर रंगशाला हस्तान्तरण गर्नुभन्दा बाहानबाजी गर्दे हिडेको पनि बताउनुभयो ।

रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तिबारे छलफल गरेर चाँडै टुंगोमा पुग्ने तयारी भएको बताउनुभएका मुख्यमन्त्री कँडेलले खेल पदाधिकारीहरुलाई भन्नुभयो, “प्रदेश खेलकुद नहुँदा पनि खेलकुदका गतिविधि नरोक्नुस् । प्रतियोगिताको मिति घोषणा हुनासाथ बन्द प्रशिक्षणमा रहने खेलाडीहरुको लागि आवश्यक व्यवस्था गरिन्छ ।” दोहोरो अंकको पदक हाँसिल गर्ने गरी तयारी गर्न खेलकुदका प्रशिक्षकहरुलाई उहाँले निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस्