४ माघ २०८१, शुक्रबार
जिल्ला कारागार कार्यालय सुर्खेतका तीन सय ७२ कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिईएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा यहाँका कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिइएको हो । उक्त कार्यक्रममा प्रशिक्षण दिँदै जीवन प्रशिक्षक राधा पौडेलले मानिस मानसिक, शारीरिक, सामाजिक र अध्यात्मिकरुपले स्वस्थ हुनका लागि परामर्श, योग र ध्यान आवश्यक रहेको बताउनुभयो ।
प्रशिक्षक पौडेलले भन्नुभयो, ‘सोच बिग्रँदा गलत भावनाको विकास हुन्छ र त्यसले चेतना शक्ति नै कमजोर बनाईदिन्छ । तपाई सकरात्मक सोच मात्र राख्नुस्, यसले प्रेम, आनन्द, शान्ति र खुसी दिलाउँछ ।” म भित्र हिरा र रत्नको खानी छ र यो समाजलाई म केही दिन सक्छु भन्ने सोच राख्न र योग ध्यानमा जोड दिन प्रशिक्षक पौडेलले कैदी बन्दीलाई सुझाउनुभयो ।
कैदीबन्दीहरुले गलत गरेर आएकाका लागि कारागार सुधार गृह भएपनि कमजोरीविना फसाईएकाहरु यहाँ आएर डिप्रेसनको सिकार हुनुपरेको गुनासो गरे । उनीहरुले भने, “पहुँचवालाहरु गलत गरेर आएका पनि पैसा तिरेर बाहिरिन्छन् तर पहुँचविहीन निर्दोष हुँदा समेत अन्याय सहेर थन्किनु परेको छ ।” गलत र सहीको अध्ययन अनुसन्धान नभई शक्ति र पहुँचका आधार न्याय दिने प्रणालीले निर्दोषहरुले विनाकारण सास्ती भोग्नुपरेको उनीहरुले पीडा व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका निमित्त सचिव उत्तम गौतमले कैदीबन्दीहरुमा सिर्जनशील सोच, पठन संस्कृति र सहि भावनाको विकास गराउने ध्येयले कारागारमा मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “आशा छ, थोरै भएपनि परामर्श कार्यक्रमले उनीहरुको मनभित्र हुने आत्मग्लानी, हिनताबोध र कमजोरी भाव कम गर्न सघाउनेछ,” उहाँले भन्नुभयो, “गलत सुधारका लागि सिकाई रहेछ भन्ने बुझाईको विकास हुनेछ ।